देवरले गरे भाउजुको हत्या, दाइ घाइते




हेटौंडा । हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।

राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे डिएसपी अर्यालले जानकारी दिए ।  घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलाम महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो । मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।

दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।

राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत १३ गते बिहीबार