Kohalpur Today Header Ads

ठमेलमा एक समूहबाट कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरी




काठमाडौंको ठमेलमा दुई जना प्रहरीमाथि कुटपिट भएको छ। मध्यराति (१२:१० बजे) क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटिएका दुई जनामाथि कुटपिट भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ। गएराति प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट मोटरसाइकलमा खटिएका थिए। उनीहरू काठमाडौं महानगर-२७ ज्याठास्थित छायाँ सेन्टर अगाडि राउण्ड अपका लागि पुगेका थिए।

त्यतिबेला ६/७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका थिए। प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो। ‘सम्झाइबुझाइ गर्न खोज्दा त्यो समूहले प्रहरीमाथि नै कुटपिट गरेको पाइयो,’ एसपी बोहराले भने। कुटपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ।

LIfe Ok

कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको छ। यस्तै जवान विष्टको दायाँ आँखा मुनि सुन्निएको छ। क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी कर्मचारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियो।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार