चलचित्र ‘एक्टरः टेक वान’को प्रदर्शन मिति माघ १६ गते थियो। सोही चलचित्र प्रचारप्रसारका लागि निर्माण टिमदेखि कलाकारहरू प्रदीप खड्का, अन्नपूर्ण शर्मा, दिव्या रायमाझीहरू देश दौडाहामा थिए। अभिनेता राज बल्लब कोइराला पनि विशेष प्रिमियर शोका लागि अमेरिकाबाट नेपाल आइपुगेका थिए।
गए सोमबार गते भक्तपुरको क्युएफएक्स सिनेमाजमा ग्राण्ड प्रियमिर भएको थियो । निर्देशक राजन भुसालदेखि निर्मातासम्म उत्साहित थिए तर अचानक काठमाडौँ जिल्ला अदालतले एक्टरः टेक वानको प्रदर्शन मिति रोक्न अन्तरकालिन आदेश दियो । र अदालतले माघ २२ गते छलफलका लागि दुवै पक्षलाई बोलायो ।
को दुवै पक्ष ?
चलचित्र ‘एक्टर: टेक वान’ जस्तै नाम गरेको चलचित्र ‘एक्टर’ सम्राट थापाले निर्माण गरेका थिए, मदन घिमिरेले निर्देशन गरेको शो चलचित्र यही माघमा प्रदर्शनमा आउँदै थियो। कथा संगीतकार तथा निर्माता समेत रहेका थापाले एक्टर चलचित्र विकास बोर्डमा पहिला नै दर्ता र सेन्सर भइसकेको बताउँदै सामाजिक सञ्जालमा पोखिए। उनले लेखेका छन्— एक्टर टाइटल मरो हो। नियममा १० वर्षसम्म कसैले दर्ता गर्न पाइँदैन। एक्टरको अंग्रजी शब्द ‘सि’ को ठाउँमा ‘के’ राखेर कसैले दर्ता गर्न पाइन्छ र?’
यसपछि सम्राट एक्टर टेक वानको प्रदर्शन रोक्न जिल्ला अदालत पुगे।
भनिन्छ नाममा के राखेको छ र? तर नेपाली फिल्म उद्योगमा चलचित्रको नामका कारण निकै खैलाबैला हुने गरेको छ। एक फिल्मकर्मीका लागि चलचित्रको नाम महत्वपूर्ण हुन्छ। नामले नै चलचित्रको कथा बोकेको हुन्छ। यस्तै कारणले होला चलचित्र एक्टरका निर्माता सम्राटले नाम चोरेरको भन्दै एक्टर टेक वानको विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरे।
‘एक्टर’का निर्माता सम्राट थापाले दिएको रिट निवेदनको आधारमा मंगलबार जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले ‘एक्टर: टेक वान’को रिलिज रोक्न अन्तरिम आदेश जारी गरेको छ।
नामलाई लिएर दुबै फिल्मबीच केही समयदेखि विवाद थियो। दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको थियो।
रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ। फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ।
साथै, रिटमा ‘एक्टर: टेक वन’लाई कुनैपनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेशसमेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ।
तर, उस्तै नाममा फिल्म बनेको यो पहिलो पटक भने होइन। यसअघि पनि एउटै नाममा अगाडि–पछाडि शब्द थपथाप गरेर थुप्रै फिल्म बनेका छन्। ‘जारी’–’जार,’ ‘पशुराम’–’जय परशुराम,’ ‘भगवान’–’भगवान सबैको,’ ‘नायक’–’खलनायक,’ ‘बादल’–’बादल पारी,’ ‘अर्जुन’–’अर्जुन देव,’ ‘डन’–’मिस्टर डन,’ ‘मेरो हजुर’–’ए मेरो हजुर,’ ‘जंगल’–’जंगल लभ’ लगायतका फिल्म यसका उदाहरण हुन्। तर अहिले चलचित्रकर्मी दुई ध्रुवमा उभिएका छन्।
चलचित्रकर्मीहरु भन्छन्
चलचित्रको प्रदर्शन रोकिएपछि एक्टर टेक वानका कलाकारले सामाजिक सञ्जालमा ‘जस्टिस फर एक्टर टेक वान’ ह्यासट्यग ट्रेन्डिङ चलाइरहेका छन्। उनीहरु फिल्मलाई न्याय दिनुपर्ने माग गरिरहेका छन्।
चलचित्रको नाम मिलको विषयलाई लिएर अदालत नै थाए थापा। तर फिल्मकर्मी एक्टर टेक वानको प्रदर्शन रोक्न अदालतले आदेश जारी गर्नु दुःखद् रहेको भन्दै प्रतिक्रिया दिइरहेका छन्।
चलचित्रकर्मी अभिनेता हरिबंश आचार्यका अनुसार आपसी समझदारीमा आउँदै चलचित्र प्रदर्शन गर्न दिनुपर्थ्याे बताउँछन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्— कुनै पनि चलचित्रलाई रिलिजको एक दिन अघि प्रदर्शन रोकिदिनु भनेको मानसिक, आर्थिक रूपमा पिडादायी हुन्छ। सबै विवादको समाधान वार्ताबाट भएको भए सिङ्गो चलचित्र क्षेत्र र चलचित्र क्षेत्रमा आबद्ध महानुभावलाई राम्रो हुने थियो।’
चलचित्र निर्देशक निर्माता केपी पाठकका अनुसार दर्ता भइसकेको नाममा एक अक्षर बदलिएर दर्ता नगरेको भए हुन्थ्यो भन्छन्, ‘जब उस्तै नाम दर्ता भइसकेको छ।
चलचित्र सेन्सर भइसकेको छ र प्रदर्शन मिति पनि नजिकिदै छ भने पछि चलचित्र निर्माण गर्ने निर्माता निर्देशकले विचार पुर्याउनु पर्ने थियो। अरू नामै नभएजस्तो भयो नि?’
निर्देशक पाठकका अनुसार अंग्रेजीको ठाउँमा नेपाली नाम राखेर पनि चलचित्र दर्ता गर्न सकिन्थ्यो। उनले भने, ‘एक्टरः टेक वान’को साटो अन्य शीर्षक राखेर पनि काम गर्न सक्थे। र दर्ता भइसकेको शीर्षकलाई पुनः दर्ता गराउँदा सम्बन्धित निकायले पनि ख्याल गर्नु पर्थ्याे कि।’
त्यसैगरी चलचित्र निर्देशक मिलन चाम्स सामाजिक सञ्जालमा लेख्छन्— दुवै चलचित्रका आफ्ना आफ्ना गुनासा होलान् तर यसको जिम्मेवारी चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले लिनुपर्छ।’
चलचित्र ऐन २०२६ को नियमावली, नियम १७ को ‘क’मा ‘कसैले पनि अन्य इजाजत प्राप्त गरेको फिल्मको नामसँग मिल्ने गरी सो फिल्म जाँच भएको मितिले दश वर्षसम्म अर्को फिल्म बनाउन पाइँदैन’ भनेर उल्लेख गरिएको छ। तर, चलचित्र विकास बोर्डले उस्तै नाम गरेका फिल्मलाई निर्माण इजाजत दिँदा ‘एक्टर’ र ‘एक्टर: टेक वान’बीच विवाद उत्पन्न भयो।
चलचित्र एक्टर: टेक वानको प्रदर्शन रोकिए पछि बिक्री भइसकेको टिकट फिर्ता हुने क्रममा छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्