महाकुम्भ मेलामा भएको भागदौडमा कयौंको मृत्यु




गंगा, यमुना र सरस्वती नदीको संगममस्थल प्रयागराजमा चलिरहेको विश्वप्रसिद्ध महाकुम्भ मेलामा बुधबार भागदौडमा परेर कयौंको मृत्यु भएको छ । एक दिनमै करिब एक करोड पुग्ने यो मेलामा बुधबार बिहान भागदौड मच्चिएको थियो। जसमा धेरैले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

कम्तीमा १५ जनाको मृत्यु भएको र कयौं अस्पतालमा उपचार गराइरहेको प्रहरी अधिकारीले बताएका छन्।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई फोन गरेर घटना विवरण बुझेका छन्। योगी आदित्यनाथले दर्शनार्थीहरुलाई प्रशासनको नियम मानिदिन अनुरोध गरेका छन् ।

दैनिक एक करोड पुग्छन्

यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दु धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दु धर्मावलम्बीहरूको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको संख्यामा तीर्थयात्री आउने गरेका छन् ।

उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले १४४ वर्षपछि परेको महाकुम्भ मेलाको विशेष महत्त्व रहेको भन्दै प्रयागराज महाकुम्भको अदभूत आनन्द लिन सबैमा आह्वान गरिन् । उनले सीमापार धार्मिक पर्यटन प्रवद्र्धनका लागि महाकुम्भ मेला उपयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरूका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ । जसको सुरुवात शंकराचार्यले गरेका थिए । जानकारहरूका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो ।

नेपालबाट पनि उल्लेख्य संख्यामा तीर्थालुहरू महाकुम्भ मेला गइरहेका छन् । साथीभाइ, परिवार र समूह बनाएर नेपालीहरू प्रयागराजमा स्नानका लागि गएका हुन् । समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे ।

यस समयमा राक्षस र देवताहरूबिच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । त्यसवेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा १२–१२ वर्षको अन्तरालमा कुम्भमेला आयोजना गरिएको पाइन्छ । –राससको सहयोगमा

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार