Kohalpur Today Header Ads

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु




राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ स्थित शिवशक्ती माध्यामिक बिद्यालयमा बुधवारदेखि १७ औं राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको खेलकुद विकास समितिको आयोजना तथा शिवशक्ती माध्यामिक बिद्यालय सम्शेरगन्ज पेरानीको संयोजनमा आयोजित प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

LIfe Ok

कार्यक्रमलाई सम्वोधन गर्दै उनले राप्तीसोनारी गाउँपालिका खेलकुदको क्षेत्रमा उर्वरभूमि रहेको बताए । ‘राप्तीसोनारी खेलकुदको क्षेत्रमा उर्वरभूमि हो उनले भने–‘यस्ता प्रतियोगिताहरुले नयाँ खेलाडीको खेल कौशलको पहिचान गर्नमा सघाउ पुर्याउँछन् ।’

उनले राप्तीसोनारीबाट थुप्रै खेलाडीहरुले विभिन्न विधामा राष्ट्रिय पहिचान बनाएको पनि उल्लेख गरे । ‘राप्तीसोनारीका थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान दिलाउनु हाम्रा लागि गौरवका कुरा हो उनले भने–‘ गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताबाट विजयी भएका खेलाडीहरुले जिल्लामा पनि उत्कृष्ट प्रदर्शन गर्दै पदक भित्र्याउने छन् भन्ने विश्वास लिएको छु ।’ उनले खेलकुदका क्षेत्रमा पालिकाले विद्यालयदेखि नै खेल प्रशिक्षणका कार्यक्रमहरुलाई अगाडि बढाएको पनि बताए ।

पूर्व कृषिमन्त्री प्रेम बहादुर भण्डारीले विद्यालय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई प्रेरित गर्ने बताए । उनले प्रतियोगितालाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिन पनि आग्रह गरे ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पनि खेलकुदका क्षेत्रमा राप्तीसोनारीले आफ्नो पहिचान स्थापित गरेको बताइन् । उनले खेलकुदको क्षेत्रमा सम्भावना देख्ने विद्यार्थी भाइवहिनीहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसरका रुपमा पनि यो प्रतियोगितालाई लिन सकिने कुरामा जोड दिइन् ।

शिवशक्ती माध्यामिक बिद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओपेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षासँग सम्वन्धीत शिक्षक संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेता, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि विद्यालयहरुले मार्च पास गरेको बिद्यालयका प्रधानाध्यापक पुष्कर खड्काले जानकारी दिए । प्रतियोगितामा ५४ विद्यालयका १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा सहभागि भएको प्रतियोगिताका संयोजक लेखराज वलीले जानकारी दिए । चम्चा, गणित, एक सय मिटर, २ सय मिटर र ४ सय मिटर दौडमा छात्रछात्रा गरी १३५ जना, भलिवलतर्फ छात्रछात्रा ४९५ जना, र एथलेटिक्सतर्फ १५२ जना गरी कूल १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धामा छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार