काठमाडौं । दुई महिनादेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध प्रहरीले शुक्रबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ । सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पूरक अभियोगपत्र दायर हुन लागेको हो ।
प्रहरीले एक अर्ब ५१ करोड बिगो कायम गरी लामिछानेसहित ५१ मुद्दा चलाउन गत सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा चलाउन लागेको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । सो मुद्दाका आरोपीमध्ये एक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुग्ने भएकाले मुद्दा दायर गर्न लागिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले शुक्रबार नै मुद्दा दायर हुने गरी तयारी भइरहेको बताए ।
लामिछाने सहकारीमा प्रत्यक्ष संलग्न नभएपनि गोर्खा मिडियामा गएको सहकारीको पैसा खर्च गर्नेमा उनको समेत भूमिका रहेको भन्दै पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनीविरुद्ध मुद्दा चलाउन लागिएको भन्दै विरोध गर्दै आएको छ । मुद्दा दायरपछि अदालतमा उनको बयान हुनेछ ।
बयानपछि साधरण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुन्छ । पोखरामा छुटेपनि उनलाई नियन्त्रणमा लिएर रुपन्देही, चितवन, काठमाडौं र पर्सा लगेर मुद्दा दायर गर्ने प्रहरी तयारी छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्