बाँकेमा राति १० बजेपछि देउसीभैलो खेल्न निषेध

कोहलपुर ।

बाँके जिल्ला प्रशासनले राती १० बजेपछि देउसीभैलो खेल्न निषेध गरेको छ । शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरेर बाँकेमा प्रहरी प्रशासनले राती १० बजेपछि देउसीभैलो खेल्न निषेध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी आयुसप्रसाद जोशीले राति १० बजेपछि देउसीभैलो खेल्न पनि निषेध गरिनुका साथै पटाका आयात, बिक्री र पडकाउन समेत रोक लगाइएको र जुवातासमा पनि कडा निगरानी बढाइएको बताए ।

जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन पटाका आयात र पडकाउने तथा जुवातास विरुद्ध विशेष अभियान सञ्चालन गरिएको जनाउँदै देउसी भैलोको पनि समय निर्धारित गरिएको जोशीले बताए ।

उनले दसैँ र तिहारका लागि जिल्ला प्रहरी कार्यालयले तयार पारेको सुरक्षा योजना अनुसार नै सुरक्षा व्यवस्था मिलाइएको जनाउँदै सोही बमोजिम जिल्लामा करिब एक हजार प्रहरी परिचालन गरिएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाँके जिल्ला शान्ति सुरक्षाको हिसाबले निकै संवेदनशील जिल्ला भएको जनाउँदै सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको बताए ।