ओली सरकारविरुद्ध काठमाडौँमा माओवादीको पहिलो विरोध प्रदर्शन गर्दै

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल रहेका निष्कर्ष निकाल्दै सरकारविरुद्ध शनिवार काठमाडौँमा खबरदारी सभा गर्दैछ ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो । तर अन्य प्रदेशमा तिहारअघि विरोध प्रदर्शन वा खबरदारी गर्ने कार्यक्रम नरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा १० गते जनप्रदर्शनसहित खबरदारी सभा गर्न लागिएको हो । अन्य प्रदेशमा अहिले सरकार विरोधी कुनै कार्यक्रम छैन । तिहारपछि देशभर विरोधका कार्यक्रम सार्वजनिक गर्छौं’, सापकोटाले भने ।

कर्णाली प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य कालीबहादुर मल्लले केन्द्रमा बाहेक अन्य प्रदेशमा विरोध वा खबरदारीको कार्यक्रम तय नभएका जानकारी दिए । ‘अन्य प्रदेशमा विरोध कार्यक्रम गर्ने विषयमा मैल महासचिवसँग पनि कुरा गरेको थिएँ । उनले अहिले केन्द्रमा मात्रै गर्ने अन्य प्रदेशमा पछि कार्यक्रम बनाउने भनेका छन् ।  प्रदेशस्तरमै हामीले अहिले कुनै विरोध कार्यक्रम वा जनपरिचालनको कार्यक्रम राखेका छैनौँ’, मल्लले भने ।

कांग्रेस र एमालेबिच असार १७ गते संविधान संशोधनसहित आलोपालो सरकार बनाउने ७ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेका अध्यक्ष केपी ओलीले असार ३१ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । तर ओली सरकारको सय दिन पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ । सरकारको सय दिनको कामको समीक्षा गर्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् । माग पुरा नभए तिहार र छठ पर्वपछि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।