डिल्ली शाही, कोहलपुर । उमेरले जम्मा १४ वर्ष । काँधमा विद्यालयको झोला, हातमा किताब–कापी र आँखामा भविष्यको सुन्दर सपना ।
कोहलपुर नगरपालिका–२ की विनिता विकको जीवन भने अरू बालबालिकाको जस्तो सहज छैन । कक्षा ९ मा अध्ययनरत विनिताको परिवार यतिबेला आर्थिक संकटसँग जुधिरहेको छ ।
घरको मुख्य आम्दानीको आधार रहेका उनका बुवा दिलबहादुर विक । सवारी चालकको काम गर्दै आएका थिए तर सवारी दुर्घटनामा परेपछि नियमित काम गर्न समस्या भयो ।
परिवारको आम्दानी कमजोर बन्दै गयो । आमा सुनिता विकलाई घर सम्हाल्न कठिन भइरहेको छ ।
विनिताका एक भाइ विनय र एक बहिनी दिपशिका छन् । त्यसमाथि उनका भाइ विनय विकलाई विद्युतको करेन्ट लागेपछि उपचारका लागि थप आर्थिक भार थपिएको छ ।
एउटा परिवारमाथि आइपरेको यस्तो संकटले बालबालिकाको पढाइसमेत प्रभावित हुने अवस्था छ ।
धेरै परिवारमा यस्तो परिस्थितिमा बालबालिकाले विद्यालय छोड्नुपर्ने, मजदुरी गर्नुपर्ने वा आफ्ना सपना बीचमै थन्क्याउनुपर्ने अवस्था आउँछ तर विनिताले आफ्नो कठिन परिस्थितिसँग हार मानिनन् । उनले अभावसँग लड्ने हतियारका रूपमा शिक्षा र सीपलाई रोजिन् ।
कोहलपुर नगरपालिका वडा नम्बर २ को सहयोगमा करिब दुई वर्षदेखि विद्यालयले निरन्तर सञ्चालन गर्दै आएको ‘पढ्दै सिक्दै, कमाउँदै’ जीवन उपयोगी सीप कार्यक्रमले विनिताको जीवनमा परिवर्तन ल्याउने माध्यम बन्यो ।
विद्यालयमा किताबका अक्षरसँगै व्यवहारिक सीप सिक्ने अवसर पाएपछि विनिताले रिबन बनाउने तालिम लिइन् ।
सुरुमा उनलाई यो सामान्य सीपजस्तो लागेको थियो । तर आफ्नै हातले उत्पादन गरेको सामग्रीबाट आम्दानी गर्न सकिन्छ भन्ने महसुस भएपछि उनको सोच नै बदलियो ।
आज उनी आत्मविश्वासका साथ भन्छिन्, “रिबन बनाउने कामले मेरो जीवन नै बदलिन्छ भन्ने विश्वास छ ।” यो भनाइ सामान्य वाक्य होइन ।
आर्थिक अभावसँग जुधिरहेकी एउटी १४ वर्षीया किशोरीको आत्मविश्वास हो, जसले परिस्थितिले थिचे पनि भविष्यको सपना मर्न दिएकी छैनन् ।
विनिताले पहिलो चरणमा करिब १०० जोडी रिबन निर्माण गरिसकेकी छन् । स्थानीय बजारबाट आवश्यक कच्चा पदार्थ संकलन गर्छिन् र त्यसबाट आफ्नै हातले रिबन तयार गर्छिन् ।
एउटा जोडी रिबनको मूल्य उनी २५ रुपैयाँ लिन्छिन् । २५ रुपैयाँको एउटा जोडी रिबन अरूका लागि सामान्य मूल्य हुन सक्छ, तर विनिताका लागि त्यो केवल व्यापारिक मूल्य होइन । त्यो उनको मेहनतको मूल्य हो, आत्मनिर्भर बन्ने पहिलो पाइला हो ।
पढाइलाई निरन्तरता दिने आशाको एउटा आधार हो । आफ्नै हातले बनाएको रिबन बिक्री गरेर प्राप्त हुने रकमबाट आफ्नो अध्ययन खर्च व्यवस्थापन गरिरहेकी छिन् भने घरको आर्थिक बोझमा केही सहयोग पु¥याउने उनको योजना छ ।
विनिताको संघर्षलाई विद्यालयले पनि नजिकबाट बुझेको छ । उनको पारिवारिक अवस्था र आर्थिक कठिनाइलाई ध्यानमा राख्दै विद्यालयले समेत ७ हजार रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटा बताउँछन् ।
प्रअ सापकोटा अनुसार विद्यालयमा हाल ६ सय ५३ जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा ९ मा मात्रै ४५ जना विद्यार्थी छन् । तीमध्ये विनिता कक्षामा उत्कृष्ट विद्यार्थीसमेत हुन् । आर्थिक अभावका कारण पढाइमा समस्या आउन सक्ने अवस्थामा रहेकी विनिता शैक्षिक रूपमा समेत अब्बल हुनु उनको संघर्ष अझ प्रेरणादायी हो ।
घरको चुलो बाल्न कठिन भएको अवस्थामा पनि उनी किताबसँगको सम्बन्ध तोड्न चाहन्नन् । बरु पढाइसँगै सीप सिकेर आफ्नै खुट्टामा उभिने बाटो खोजिरहेकी छन् ।
प्रअ सापकोटाले विनिताले निर्माण गरेका रिबनको बजारीकरणमा समेत विद्यालयले पूर्ण रुपमा साथ दिने र विद्यालयमा प्रयोग हुने रिबनमा विनिताले उत्पादन गरेको रिबनलाई अनिवार्य रूपमा प्रयोग गर्ने प्रधानाध्यापक सापकोटा बताउँछन् ।
सापकोटाका अनुसार विनिताको रिवनलाई कोहलपुरका अन्य विद्यालयहरूमा रिबन प्रयोग गरिदिएमा उनको उत्पादनले बजार पाउने र त्यसबाट उनलाई थप आम्दानी गर्न सहज हुने अपेक्षा रहेको छ ।
यो एउटा विद्यार्थीको उत्पादन बिक्री गरिदिने सामान्य विषय मात्रै होइन । यो एउटी संघर्षशील बालिकालाई आफ्नै मेहनतबाट उभिन सहयोग गर्ने सामाजिक जिम्मेवारी पनि हो । यदि स्थानीय विद्यालय, अभिभावक, विद्यार्थी, व्यवसायी र समुदायले उनको उत्पादनलाई प्राथमिकता दिए भने विनिताको सीपले बजार पाउनेछ ।
बजार पाएपछि उत्पादन बढ्नेछ, उत्पादन बढेपछि आम्दानी बढ्नेछ र आम्दानी बढेपछि उनको पढाइ र परिवारको आर्थिक बोझमा केही राहत पुग्ने प्रअ सापकोटा भन्नुहुन्छ ।
यो गरिबी, अभाव, पारिवारिक संकट र सम्भावनाबीचको संघर्ष हो । एउटा बालिकाको आँखामा भविष्यको सपना छ, तर घरको अवस्था त्यो सपना पूरा गर्न पर्याप्त छैन ।
‘भाइको उपचारको चिन्ता छ, बुवाको दुर्घटनाले आम्दानीको बाटो कमजोर बनाएको छ, घरखर्च धान्न कठिन छ । तर त्यही घरकी छोरी भने हातमा सीप लिएर भविष्य बनाउन संघर्ष गरिरहेकी उनलाई रिवन किनेर साथ दिनुभयो भने धेरै सहज हुने’ विनिता बताउँछिन् ।
विनिता भन्छिन, ‘एउटा रिबनमा धागो मात्र गाँसिएको छैन; त्यहाँ मेरो मेहनत, आत्मसम्मान, पीडा, आशा र भविष्यको सपना गाँसिएको छ ।’ त्यसैले सबैले यसको प्रयोग गर्न आग्रह समेत गरेकी छिन् ।
करेन्टले भाइलाई थला पा¥यो, दुर्घटनाले बुवाको कमाइ रोक्यो, घरको आर्थिक अवस्था कमजोर भयो—तर विनिताले हातमा रिबन समातेर भनिरहेकी छन्, वनिता भन्छिन्, “म पढ्छु, सीप सिक्छु, कमाउँछु र आफ्नै भविष्य बनाउँछु ।” विनिताले प्रमाणित गरिरहेकी छन्, “गरिबीले अवसर खोस्न सक्छ, तर सीप, मेहनत र आत्मविश्वास भएको बालिकाको सपना खोस्न सक्दैन ।”
यही अठोटले विनितालाई केवल एउटी विद्यार्थी होइन, संघर्षबाट सम्भावना जन्माउने एउटा प्रेरणादायी उदाहरण बनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।


















प्रतिक्रिया दिनुहोस्