काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए ।
‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’ उनले भने ।
संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने सांसद परियारले बताए ।
‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ’, उनले भने ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए ।
राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको छ । यस सम्बन्धमा रास्वपाले आपत्ति जनाएको हो ।
काेहलपुर टुडे । २५ भाद्र २०८१, मंगलवार १३:३८