कोहलपुर ।
बाँके जिल्लाका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ । आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्क अनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।
गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३९ परिवार बाँके आएका छन् । २०३९ परिवारका ६११० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी ९१८ परिवारका २६४८ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् ।
गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि नेपालगन्ज, बैजनाथ र खजुरा रहेको छ । कोहलपुरमा गत आर्थिक वर्षमा ७६१ परिवारका २१६४ जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा २५४ परिवारका ६९९ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकामा गत आर्थिक वर्षमा ५३३ परिवारका १६७८ जना सदस्य बसाइँ सरेर आएका छन् भने वर्षमा नेपालगन्जबाट ३१२ परिवारका ९६८ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।
यस्तै बैजनाथमा गत आवमा ३६६ परिवारका ११५६ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४०० सदस्यहरू बसाइँ सरेरका छन् ।
खजुरा गाउँपालिकाकामा गत आवमा २४४ परिवारका ७३३ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् भने ९७ परिवारका २८६ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।
यस्तै डुडुवा गाउँपालिकामा गत आवमा बसाइँ सरेर कोही पनि नआएको तर ४ परिवारका १६ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् ।
यस्तै गत आवमा १ परिवारका ४ जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने २ परिवारका ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् । नरैनापुरमा १५ परिवारका ४४ जनाले बसाइँ सरेर आएको र ६ परिवारका १९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्थांक छ ।
आर्थिक वर्ष २०७९–०८० मा कोहलपुरमा १३३६ परिवारका ४०७४ जना, नेपालगन्जमा ९२५ परिवारका ३०१५ जना, बैजनाथमा ५३५ परिवारका १८७४ जना, खजुरामा ३५४ परिवारका ११७६ जना, राप्तीसोनारीमा २५७ परिवारका ७८४ जना, डुडुवामा दुई परिवारका ८ जना, जानकीमा ३ परिवारका १२ जना र नरैनापुरमा १७ परिवारका ६४ जना गरी कुल ३४२९ परिवारका ११००७ जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।
त्यसैगरी कोहलपुरबाट ५२८ परिवारका १६१३ जना, नेपालगन्जबाट ५२२ परिवारका १५९५ जना, बैजनाथबाट २३७ परिवारका ७५० जना, खजुराबाट २१४ परिवारका ७२५ जना, राप्तीसोनारीबाट १७७ परिवारका ५७६ जना, डुडुवाबाट ४ परिवारका १८ जना, जानकीबाट ११ परिवारका ३८ जना र नरैनापुरबाट ११ परिवारका ५१ जना गरी कुल १७०४ परिवारका ५३६६ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ ।
आर्थिक वर्ष २०७९–०८० मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जानेको सङ्ख्यामा कमी पाइएको छ । गत आर्थिक वर्षमा भन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लामा बसाइँसराइ गरेर आउने तथा जानेको सङ्ख्या दोब्बर रहेको थियो । उक्त आर्थिक वर्षमा ३४२९ परिवारका ११००७ जना सदस्य जिल्लामा बसाइँसराइ गरेर आएका थिए भने १७०४ परिवारका ५३६६ जना सदस्यले जिल्ला छाडेर अन्यत्र बसाइँसरेर गएका थिए ।
काेहलपुर टुडे । १८ भाद्र २०८१, मंगलवार २१:३४