कोहलपुर ।
बाँकेमा माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् ।
आज (बुधबारबाट) एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २ सय २५ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बताए ।
उनले गत चैत महिनामा भएको एसइईको परीक्षामा बाँकेका ५ हजार ९सय ९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि ५ हजार २ सय २५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएको बताए ।
प्रमुख यादवका अनुसार सो परीक्षाका लागि जिल्लाका पाँच वटा पालिकाका १२ वटा विद्यालय परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा सञ्चालनका लागि ५ सय ३५ भन्दा बढी शिक्षकलाई परिचालन गरिएको छ ।
उनले नेपालगन्ज उपमहानगरमा ४ वटा, कोहलपुर नगरपालिकामा ४ वटा, राप्ती सोनारी गाउँपालिकामा २ र खजुरा तथा बैजनाथ गाउँपालिकामा १–१ वटा परीक्षा केन्द्र तोकिएको बताए ।
नेपालगन्जमा सरस्वती मावि, महेन्द्र मावि, मङ्गलप्रसाद मावि र धम्बोझी मावि, कोहलपुरमा राम मावि, त्रिभुवन मावि, ज्ञान ज्योति र लक्ष्मी मावि, राप्ती सोनारीमा लक्ष्मी मावि र सिद्धेश्वर मावि, खजुरामा ज्ञानोदय मावि र बैजनाथमा प्रभात माविमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।
बाँकेबाट ग्रेड वृद्धिको परिक्षामा सहभागी हुनेहरुमा सबैभन्दा बढी गणित विषयका विद्यार्थी छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख यादवका अनुसार गणित विषयमा ३ हजार ७ सय ३३, विज्ञानमा २ हजार ७ सय ६८, सामाजिकमा २ हजार ६ सय २९, अग्रेजीमा १ हजार ९ सय २३, अर्थशास्त्रमा १ हजार ८ सय ५२, नेपालीमा १ हजार ४ सय ८ र ऐच्छिक गणितमा ७ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्