अगामी बर्ष देखि पालिकास्तरमै गरिनेछ रोजगार मेला : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आगामी बर्ष देखि पालिकास्तरमा रोजगार मेलाको आयोजना गरिने बताएका छन् । सोमबार देखि गण्डकी प्रदेशको पोखरामा सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदातामा बिच समन्वय गर्न मन्त्रालयले रोजगार मेलाको आयोजना गरेको हो । ‘तर, अहिलेको परिप्रेक्ष्यमा श्रमाधान रोजगार मेला सान्दर्भिक ठानेर हामीले बजेट बिना पनि मेलाको आयोजना गरौ । छोटो अवधिमा नै मेला गर्नुपर्ने भएकोले हामीले कतिपयलाई कार्यक्रममा सहभागी गर्न सकेनौ । तर, आगामी दिनमा संयुक्त रुपमा यस्ता कार्यक्रम गर्न तिनवटै सरकार मिलेर पालिकास्तरमा नै गर्नेछौ,’ उनले भने ।

नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न यो मेलाले सहयोग गर्ने उनले बताए । ‘श्रम खोज्नेको ठूलो संख्या छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाउएर आप्रवासी श्रमिक भित्राएका छन् । श्रमिक र रोजगारदाता बीच खाडललाई अन्त्य गर्न यस्तो मेलाले सहयोग गर्ने उनले बताए ।

श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्वपूर्ण नरहेको उनको भनाइ छ । यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने बताए । दुई दिने मेलाले वैदेशिक रोजगारीमा जानेहरुलाई समेत धेरै जानकारी मिल्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गरेकोमा धन्यवाद दिए । श्रम र रोजगारको क्षेत्रमा नयाँ दिशा दिलाउन महत्वपूर्ण भूमिका खेल्नमा विश्वास व्यक्त गरे । हामीले बनाएको संविधानबारे पटक पटक प्रश्नहरु उठिरहेको भन्दै यसको कराण नै रोजगारी रहेको उनको भनाइ छ ।

बेरोजगारको संख्या निकै बढी हुँदा सामाजिक सञ्जालमा अनावश्यक कुराहरु लेखेर भौतारिहेको उनको भनाइ छ । अहिले नेपालको सबैभन्दा चुनौती भएको रोजगारी दिनु रहेको मुख्यमन्त्री पाण्डेले बताए । गाउँघरमा जमिन बाझो बनाउने तथा बेरोजगार भएर बस्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । ‘यहि रोजगारीको खोजीको सिलसिलामा गाउँ छोड्ने ट्रेण्ड देखिएको छ । यो रोक्न सकियो भने हाम्रो भविश्य राम्रो हुदैन्,’ मुख्यमन्त्री पाण्डेले भने ।

कृषिमा आधारित रोजगारी दिलाउन नसकेको उनको स्वीकारोक्ति छ । गत वर्ष कृषिका लागि प्रदेश सरकारले ठूलो योजना अघि बढाएको तर, त्यो सफल हुन नसकेको उनको भनाइ छ ।

‘नेपालको जतिपनि समस्या देखिएका छन् । चाहै त्यो राजनीति, चाहे त्यो सामाजिक त्यसको एउटै कारण हो बेरोजगारी । यो कार्यक्रमले एउटै ठाउँमा राखेर रोजगार खोज्ने र रोजगार दिनेलाई एउटै ठाउँमा राख्न सक्छ भन्नेमा म विश्पववस्त छु,’ मुख्यमन्त्री पाण्डेले भने ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा महानगरले अहिलेसम्म तीन हजार भन्दा बढीलाई रोजगारीका अवसर प्रदान गरिसकेको बताएका छन् । गण्डकी प्रदेशको श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा सम्बोधान गर्दै आगामी दिनमा श्रम र रोजगारसँग सम्बन्धित कार्यक्रमहरु तीनै तहका सरकार मिलेर जानुपर्ने बताए ।

त्यस्तै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले रोजगारी खोज्नेहरुलाई रोजगारदातासम्म पुर्याउने पुलको काम गर्ने बताए । औद्योगिकमैत्री खालको वातावरण बनाउनुपर्ने हुन्छ ।

लगानीमैत्री वातावरण नेपाल सरकारबाट धेरै कुराहरुमा रोजगारलाई अझ बढी महत्व दिएर अघि बढिरहेको छ । यो मेलामा रोजगारलाई महत्व दिएर गण्डकी प्रदेश सरकार अघि बढिरहेको छ । श्रमलाई व्यवस्थित र मर्यादित गर्ने कुरामा आजको मेलामा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।

मेलामा विभिन्न खालका ३९ वटा स्टलहरु राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरु रहेका छन् ।

आज र भोलीसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत हुनेछ। दुईदिनसम्म चल्ने मेलामा पहिलो दिन श्रम आप्रवासन : कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अबसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा सम्वाद हुनेछ ।

त्यस्तै दोस्रो दिन भोलि शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाईको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा सम्वाद हुनेछ ।

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ ।