पहुचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री रवि लामिछाने

बाँके ।

बाँकेको नौबस्ता स्थित क्षेत्रीय कारागार भवनको उदघाटन गर्दै राम्रो आचरण हुने कैदी बन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने र पहुँचका आधारमा कसैलाई माफी मिनाहा नहुने बताएका छन् ।

उनले जस्को कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरुको पुनस्र्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार सम्बेदनशील रहेको बताए ।

कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरुमा सरकारले व्यवस्था गर्ने बताए ।

उनले देशमा अहिले डढेलोले दुःख दिएको बताउँदै डढेलो नियन्त्रणमा तिनै तहको सरकार मिलेर काम गर्नु पर्ने उल्लेख गरे । नागरिकको समस्या समाधान गर्न मन्त्रालायले यस अघि नै मातहतका निकायमा निर्देशन दिइसकेको उनले जानकारी दिए ।

उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामीला मन्त्री दिनेश पन्थी लगायत बोलेका थिए ।

केही बर्ष अघि आधुनिक भवन सहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउनसकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो ।

नेपालगन्जमा कारागारमा तेब्बर कैदीबन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार सञ्चालनले अब त्यसको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरिएको छ ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्ज स्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि संचालन गरिने तयारी कारागार ब्यवस्थापन बिभागको रहेको छ ।

९ बिघाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ ।