१ हजार ९ सय ९६ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका भित्रका ४५ वटा विद्यालयका १ हजार ९ सय ९६ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । मंगलबार सानीभेरी गाउँपालिका वडा नं १ को भेरीदोभान मावि चाईनाबगरमा एक कार्यक्रमका बीच उक्त शैक्षिक सामाग्री विद्यालयहरुलाई हस्तान्तरण गरिएको हो ।

रुकुमेली समाज विकास केन्द्रको समन्वय र युनिसेफको आर्थिक सहयोगमा करिब ६५ लाख बराबरको शैक्षिक सामाग्री सबै विद्यालयका कक्षा १ देखि ३ सम्मका बालबालिकालाई हस्तान्तरण गर्ने गरी विद्यालयलाई सामाग्री उपलब्ध गराइएको युनिसेफका एजुकेशन अफिसर फर्सराम पन्तले जानकारी दिए ।

एजुकेशन अफिसर पन्तका अनुसार युनिसेफले भूकम्पबाट विद्यालयको भौतिक पुर्वाधार क्षेति भएको अवस्थामा कक्षाकोठा र डेस्क बेन्च नभएको अवस्थालाई मध्यनजर गरी जुनसुकै ठाउँमा बसेर पनि पढ्न र खेल्न सक्ने प्रकारका बहु उपयोगी शैक्षिक सामाग्री वितरण गरिएको बताए । उनले भूकम्प गए देखिनै भूकम्प प्रभावित क्षेत्रमा विभिन्न प्रकारका सहयोग गरिरहेको र अझै पनि आवश्यकता अनुसार सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

बालबालिकाले बोक्ने ब्यागलाई फोल्ड गरेर सानो खालको टेबल बनाउन सकिने र झोलामा पढ्नको लागि किताब कापी र कलरफूल पेन्सिल, खेल्नका लागि कलरफुल लुडो, सानो बल तथा डोरी लगाएतका सामाग्री रहेका छन् ।