आगो निभाउँदा जलेर एक सैनिकको मृत्यु

डोल्पामा मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका सैनिकहरुमध्ये एकजनाको मृत्यु भएको छ ।
उपचारका लागि काठमाडौं रिफरको तयारी रहेका सैनिकको डोल्पा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको हो । थप उपचारका लागि काठमाडौं ल्याने तयारी भइरहेको अवस्थामै सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको ठूलीभेरी नगरपालिका– ३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका चारजना सेना घाइते भएका थिए ।

आगोमा परी घाइते भएकामध्ये दुईजनालाई सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि अन्य दुईजनाको भने जिल्ला अस्पतालमा उपचार भइरहेको थियो ।

डोल्पा जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले घाइतेहरु करिब ७० प्रतिशत जलेको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको जानकारी दिएका थिए ।

जलनका कारण गम्भीर घाइते भएकाले डोल्पामा उपचार सम्भव नहुँदा दुईजनालाई तत्काल नेपालगन्ज रेफर गरेको र थप दुईजनालाई काठमाडौं लैजान हेलिकोप्टर कुरीरहेको डा. उपाध्यायले बताएका थिए । जंगलमा आगलागी भने आइतबार दिउँसोदेखि लागेको थियो ।

सोमबार डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।