विश्वविद्यालय सभा (सिनेट) मा माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी

कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले विश्वविद्यालय सभा (सिनेट) मा आफ्ना मागहरु पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक संघले आज प्रेस विज्ञप्ती जारी गर्दै मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा हुन लागेको विश्वविद्यालय सभा (सिनेट) बाट आफ्ना मागहरु पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘प्राध्यापकहरुले क्याम्पस समायोजन भएको झण्डै ६ वर्ष पुग्दा पनि प्राध्यापकहरुका मागहरु पुरा भएनन्, आगामी हुने सिनेटबाट समेत मागहरु पुरा नभएपछि कडा आन्दोलन गर्नेछौं ।’

बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति राज कुमार चन्दले क्याम्पस समायोजन हुने समयमा विश्वविद्यालयको ८औं विश्वविद्यालय सभाले निर्णय गरेको नियमावलीमा उल्लेखित अस्थायी, करार, घटुवा र आशिंक प्राध्यापकहरुलाई हालसम्म पनि सम्बोधन नगरेका भन्दै आन्दोलन गर्नुपरेको बताए ।

‘विश्वविद्यालयले प्राध्यापकहरुलाई अन्याय गरिरहने तर प्राध्यापक संघ टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, प्राध्यापकहरुका मागहरु पुरा नभए अब आन्दोलनका कार्यक्रम घोषणा गर्ने योजना बनाएका छौं ।’

आगामी बस्ने विश्वविद्यालयको सिनेटले लोड पुगेका आंशिक प्राध्यापकहरूलाई करार, समायोजनका समयमा अस्थायीमा रहेका प्राध्यापकहरू र अन्य करार प्राध्यापकहरूलाई विशेष आन्तरिकबाट स्थायी र घटुवामा परेका प्राध्यापकहरूलाई सोही पदमा पुनर्वाहली र समय पुगेकालाई बढुवा प्रक्रियामा लैजाने गरी सम्वोधन गनुपर्ने सभापति चन्दले बताए ।

विज्ञप्ती हेर्नुहोस् ।