मनोमानी रुपमा चलेका २२ सहकारीलाई खारेजी गर्दै कोहलपुर

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रुपमा चलेका २२ वटा सहकारीलाई खारेजी गर्न लागेको छ ।

कोहलपुर नगरपालिका भित्र सञ्चालन रहेका २२ वटा सहकारीले ‘कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४’ अनुसार सञ्चालन नगरेको पाइएकोले ती सहकारीहरुलाई खारेजीका लागि पक्रिया अगाडी बढाएको छ ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले झोलामा रहेका सहकारीहरुलाई खारेजी पक्रियामा लैजाने तयारी गरिरहेको बताए । सेवामुलक भन्दा व्यवसायिकमुलक गरिरहेका सहकारीहरुलाई खारेजीको विकल्प नरहेको बताए ।

कोहलपुर टुडे डटकमसंग कुराकानी गर्दै कोहलपुर नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखाका प्रमुख अग्नी आचार्यले नगरपालिकाको सम्पर्कमा आएको नदेखिएको, नगरपालिकामा बुझाउनुपर्ने नियमित प्रतिवेदन पेश गरेको नपाइएको सहकारी चालु अवस्थामा रहे नरहेको समेत यकिन गर्न नसकिएको हुँदा ती २२ वटा सहकारीहरुलाई खारेजी पक्रिया अगाडी बढाइएको बताएका छन् ।

‘१५ दिने सूचना समेत प्रकाशन गरिसकेका छौं,’ उनले भने, ‘सो समयभित्र नआएको खण्डमा खारेजी गर्नेछौं ।’ नगर क्षेत्रभित्रका कतिपय सहकारीहरुले आफ्नो क्षेत्रभन्दा बाहिर कारोबार गरिरहेको र सो आधार समेत पेश नगरेका सहकारीहरुलाई समेत कारवाहीको पक्रिया अगाडी बढाइने आचार्यले बताए ।