कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटना

काठमाडौँ ।

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ । बिहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको हो । सो कार प्रदेश ३ ०१ –००३ –प ६२९८ नम्बरको टिपरसँग ठोकिएको बताइएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

दुर्घटनालगतै ६ जनालाई नै मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर रहेको छ ।

सामान्य उपचारपछि डिस्चार्ज भएका विशाल भण्डारी र पूजन अधिकारी अहिले जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् । दुवैले कार आफैँले चलाएको भनेर दाबी गरिरहेको र कार कसले चलाएको थाहा नभएका कारण दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी पाठकले बताए ।