Kohalpur Today Header Ads

देवदहमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला




बुटवल ।

एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै देवदह नगरपालिकाका–७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

सोमबार नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

LIfe Ok

नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् । नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति नलिएको, वडा नं ८ मा नदीजन्य पदार्थको अवैध चोरी तस्करी गर्ने ट्याक्टर, एक्साभेटरलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा राजश्व नलिई छाडिएको वडाध्यक्षहरुको भनाइ छ ।

सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमानेको, शिक्षक तथा कर्मचारी नियुक्ति अपारदर्शी भएको, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध नगराएको पनि वडाध्यक्षहरुले बताएका छन् ।

नगर स्तरीय खेलकुद समिति गठन प्रक्रियामा बहुमतबाट निर्णय गरिएको, उपभोक्ता समितिलाई काम गरिसक्दा पनि भुक्तानी लिन पटक पटक धाउन बाध्य पारिएको, कोरम नपुग्दा नपुग्दै घर घरमा हस्ताक्षर गराएर नगर सभा सञ्चालन गरिएको, कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शीर्षकमा रकम बाँडेको वडाध्यक्षहरुको आरोप छ ।

आन्दोलनमा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दीपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दूधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारू सहित १५ जना जनप्रतिनिधि सहभागी छन् ।

यी हुन् ७ वडाध्यक्षले लगाएका आरोप

  • नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भुक्तानी समेत भएको ।
  • नगर प्रमुख कोषदेखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा नं. ९ को कार्यालयको सिफारिस बिना रकम निकासा समेत गरीएको ।
  • वडा नं ८ मा मिति २०८०/०८/२० गते नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रेक्टर, जे.सि.भि पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा बिना राजश्व छोडिएको ।
  • देवदह तगरपालिकामा गरिने आन्तरीक सामाग्री खरीद प्रक्रिया सार्वजनिक खरीद प्रक्रियामा नगई मानोमानी ढंगले खरीद गर्दै आएको ।
    नगरपालिकाबाट गरिएका शिक्षक तथा कर्मचारी नियुक्ति सम्बन्धित परिक्षाहरु पारदर्शी ढंगले नगरीएको ।
  • अघिल्लो नगर सरकारदेखि लागु गरिएको देवदह नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको योगदानमा आधारीत सुरक्षा कोषमा आवद्ध गराउने कुरालई पटक पटक कार्यपालिकाबाट लागु गर्ने निर्णय पनि प्रमुख प्रशासकिय अधिकृतले लागु नगरेको ।
  • नगरस्तरिय खेलकुद समिति गठन प्रक्रियामा कार्यपालिकाभित्र असहमति हुँदाहुँदै जबरजस्ति र मनोमानी ढंगले बहुमतको दम्भ देखाँउदै निर्णय गरिएको ।
  • उपभोक्ता समितिलाई कार्य सम्पादनपछि पनि पटक पटक नगरपालिका धाउन पर्ने गरी सास्ती दिईएको ।
  • हाम्रो असहमति हुँदाहुँदै पनि प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानु पर्ने ठाँउमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको बिचमा द्वन्द सिर्जना गराई कोरम नपुग्दा नपुग्दै घर घरमा गएर हस्ताक्षर गराएर नगर सभा सञ्चालन गरीएको ।
  • कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शिर्षकमा रकम बाडेको ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार