दुर्घटना न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व हो : गृहमन्त्री श्रेष्ठ

काेहलपुर ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैले ज्यान गुमाउने गरेको भन्दै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताएका छन् ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्त रुपमा सञ्चालन गरेको ट्राफिक सप्ताहको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले सार्वजनिक सवारी साधनका चालकलाई हेल्मेट लगाएर तथा सार्वजनिक सवारी साधनमा ट्राफिक सचेतनासम्बन्धी स्टीकर टाँसेर ट्राफिक सप्ताहको उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले दुर्घटना रोक्नका लागि गुणस्तरीय सडक, नियम अनुसारको सवारी साधन परिचालन र सर्वसाधारणमा चेतनाको विकास आवश्यक भएकाले सम्बन्धित सबैले यी विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

माओवादी जनयुद्धमा दश वर्षको अवधिमा जति जनाको ज्यान गयो त्योभन्दा बढी गत दश वर्षको अवधिमा जनताले दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले यसलाई न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व बनेको जिकिर गरे ।

अधिकांश दुर्घटना मानवीय गल्तीकै कारण हुने भएकाले सो रोक्न नियमन गर्ने निकायले आफ्नो जिम्मेवारी सक्रियता पूर्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्यामबहादुर खत्रीले ट्राफिक सप्ताहअन्तर्गत सात दिनसम्म गरिने विभिन्न जनचेतनामूलक कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले सहजिकरण गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे, सहरी विकास मन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी कुबेर कडायत, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई लगायतको सहभागिता थियो ।