आज उपाधिका लागि भिड्दै कोहलपुर मेयर–११ र सुदूरपश्चिम

कोहलपुर ।

सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा फाइनलका लागि कोहलपुर मेयर–११ र सुदूरपश्चिम भिड्ने भएका छन ।

कोहलपुर नगरपालिका द्वारा आयोजित प्रतियोगिताको लिग चरणको सबै खेल समाप्त हुँदा सबै चार खेल जित्दै ८ अंक सहित कोहलपुर मेयर–११ अंक तालिकाको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा रहेर फाइनल प्रवेश गर्यो ।

सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको –०.४९२ रह्यो । प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ विजयी भए। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई पराजित गर्यो । बुधवारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो ।

लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७.४ ओभरमा भेटायो । सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिईन् ।

स्नेहा महराले १० रन योगदान दिईन् । लुम्बिनीको बलिंगमा सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिईन् । यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले १९.३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो । लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिईन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमले अतिरिक्तको रुपमा १७ रन खर्चियो ।

सुदूरपश्चिमको बलिंगमा रबिना साउदले सर्वाधिक ३ विकेट लिईन् । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन् । करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १/१ विकेट लिईन् ।

बुधवारको दोश्रो खेलमा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्यो । कोहलपुर मेयर–११ ले दिएको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

बागमतीको लागि बिपिशा शाहीले सर्वाधिक २१ रन, अलिशा खड्काले १८ तथा क्रिश्मा गुरुङले १६ रन योगदान दिईन् । कोहलपुर मेयर–११ को बलिंगमा प्रतिमा शाहले २ विकेट लिंदा भवानी कमाती, आरति महतो, दिक्ष्या पुरी र रिया शर्माले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १३२ रन बनायो । कोहलपुरको लागि कप्तान साना प्रभिनले अविजित ४८ तथा अविजित एलिशा यादवले ४७ रन बनाए ।

प्रभिनले ६० बलमा ५ चौका तथा यादवले ४६ बलमा ६ चौका प्रहार गरे। किरन कुँवरले १५ रन बनाए। दोश्रो विकेटको लागि प्रभिन र यादवले अविजित १०३ रनको साझेदारी गरे । खेलको प्लेयर अफ द म्याच साना प्रभिन घोषित भईन् ।