सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट : लुम्बिनी बाहिरियो, सुदूरपश्चिम र गण्डकी विजयी

कोहलपुर ।

बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गर्यो ।

दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो। बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५/४ ओभरमा २ विकेट गुमाएर भेटायो ।

सुदूरपश्चिमको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सर्वाधिक ४७ रन योगदान दिईन् । अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार गरिन् । स्नेहा महराले अविजित २४ रन बनाईन् । तेश्रो विकेटको लागि सावित्री र स्नेहाले अविजित ५६ रनको साझेदारी गरे । बागमतीको बलिंगमा एक मात्र विकेट मनिषा उपाध्यायले लिईन् ।

टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक २९ रन योगदान दिईन् । क्रिश्मा गुरुङले १२ तथा साबिका यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको बलिंगमा अनु कडायत र क्रिश्मा गुरुङले १र१ विकेट लिए । सुदूरपश्चिमले ५ विकेट रन आउट मार्फत पायो । दिनको दोश्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गर्यो ।

गण्डकीले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६/५ ओभरमा ६२ रनमा सबै विकेट गुमायो । लुम्बिनीको ब्याटिंगमा आशमा पुलामी मगरले सर्वाधिक २८ रन योगदान दिनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकी प्रदेशको बलिंगमा सिमाना केसी एक्लैले ६ विकेट हात पारिन् । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा मात्र १४ रन खर्चिन् । रचना चौधरीले २ तथा आकृति तिवारी र निरुता जीटिले १/१ विकेट लिए । टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।

गण्डकीको लागि सिमाना केसीले सर्वाधिक ४३ रन बनाईन् । अविजित रहँदै केसीले ४६ बलमा ४ चौका प्रहार गरिन् । सरिना थापाले १६ तथा सलिना सेनले १० रन योगदान दिईन् ।

लुम्बिनीको बलिंगमा सरु तिवारीले १ विकेट लिंदा बाँकि ३ विकेट रन आउट मार्फत पायो । आज जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको गण्डकी प्रदेश दोश्रो स्थानमा छ। समान अंक सहित २ खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ शिर्ष स्थानमा छ । २ खेलमा समान १ जित र १ हार बेहोरेको बागमती र सुदूरपश्चिम प्रदेश नेट रन रेटको आधारमा तेश्रो र चौंथो स्थानमा छ।

तिन वटै खेलमा पराजित भएको लुम्बिनी एक खेल अगावै प्रतियोगिताको फाइनल दौड बाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल विहान ९:३० बजे बागमती प्रदेश र गण्डकी प्रदेश बीच हुनेछ ।

दोश्रो खेल दिउँसो १:३० बजे कोहलपुर मेयर-११ र सुदूरपश्चिम प्रदेश बीच हुनेछ। प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन् । सबै टिमले एक-अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।