कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुने

कोहलपुर ।

बाँकेको कोहलपुरमा सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । यही माघ २७ गतेदेखि आयोजना गरिएको प्रतियोगिता तयारी तीब्र पारिएको आयोजक कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन तथा नेपाल क्रिकेट संघ (क्यान)को सहकार्य एवम् प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय खेलकुद मैदानमा आयोजना गरिएको छ । प्रतियोगिता आयोजनाको औचित्य पुष्टि गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतियोगिताले प्रस्तावित क्रिकेट मैदानको पूर्वाधार निर्माणसँगै खेल गतिविधि बढाउन संघीय र प्रदेश सरकारलाई दवाव सिर्जना गर्ने बताए ।

उनले प्रतियोगिताले क्रिकेट मैदानको उपयोगिता समेत बढाउने तर्क गरेका छन् । ‘गत वर्ष सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट लमहीमा गरिएको थियो उनले भने–‘लमही भन्दा बाँकेमा यो प्रतियोगिता गर्दा यसको सान्दर्भिकता बढी रहन्छ । किनभने सुशील कोइराला राष्ट्रिय नेता भएपनि बाँके उहाँको कर्मथलो र राजनीतिक थलो भएकाले बाँकेमा प्रतियोगिता गर्न क्यानलाई दवाव दिएका थियौं ।

क्यानले प्रतिबद्धता जनाएअनुसार बाँकेमा यो प्रतियोगिता सम्भव भएको हो ।’ उनले यो प्रतियोगितालाई भव्य बनाउन सबैको सहयोगको आवश्यकता औल्याए । उनले महिला क्रिकेट खेलाडीमात्र नभएर पुरुष क्रिकेट खेलाडी उत्पादनका लागि जिल्ला स्तरीय प्रतियोगिताको समेत योजना बनाइरहेको प्रष्ट्याए ।

पूर्व कप्तान एलबी क्षेत्रीले राष्ट्रिय स्तरका प्रतियोगिताहरुको खडेरी लागिरहेका बेला कोहलपुरमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु अत्यन्तै सुखद पक्ष भएको बताए । उनले यो प्रतियोगिताले कोहलपुरको पहिचान स्थापित गर्ने उल्लेख गरे ।

उनले कोहलपुरमा आयोजना गरिएको यो प्रतियोगिता महिला महिला खेलाडीका लागि पुर्नजन्म भएको उल्लेख गरे । प्रतियोगितामा पाँच टिमको सहभागिता रहनेछ ।

६ दिनसम्म चल्ने प्रतियोगितामा कोहलपुर ११, लुम्विनी, गण्डकी, बागमती र सुदूरपश्चिम सहभागि हुने प्रतियोगिता संयोजक चिन्तामणी धितालले जानकारी दिए । पत्रकार सम्मेलन कोहलपुर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षतामा भएको हो ।