संस्थागत विद्यालयका शिक्षकको तलब ग्यारेन्टी गराउँदै कोहलपुर

कोहलपुर ।

संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुले न्यूनतम पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।

श्रम कार्यालयसँग गरिएको सम्झौअनुसार संस्थागत विद्यालयहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढ्न थालेपछि कोहलपुर नगरपालिकाले ती विद्यालयहरुलाई कडाइ गर्न थालेको छ ।

कोहलपुर नगरपालिकाले संस्थागत विद्यालयबाट शिक्षक तथा कर्मचारीलाई दिएको तलवभत्ता निकासाको बैंक सिटको प्रतिलिपि शिक्षा शाखामा बुझाउन अनिवार्य गरेपछि लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका शिक्षक तथा कर्मचारीलाई राहात हुने भएको छ ।

कोहलपुर नगरपालिकाका अधिकांश संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीहरुलाई न्यून पारिश्रमिकमा काम गर्न लगाएको पाइएपछि संस्थागत विद्यालयहरुलाई तलवभत्ता निकासाको बैंक सिटको प्रतिलिपि फागुन ६ गतेसम्म बुझाउन परिपत्र गरिएको कोहलपुर नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्ने गरी ती विद्यालयमाथि स्थानीय सरकारले लगाम लगाउन थालेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।

‘संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विद्यालयले न्यूनतम पारिश्रमिक समेत नदिएको गुनासो गर्दै आउनुभएको थियो नगर प्रमुख आचार्यले भने–‘ती गुनासाहरुको सम्वोधन गर्ने गरी यो प्रक्रियालाई अगाडि बढाएका छौं । न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्ने सवालमा स्थानीय सरकार प्रतिबद्ध छ ।’

संस्थागत विद्यालय आफैले श्रम कार्यालयलगायतसँग शिक्षक कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिने भनेर सम्झौता गरेका छन् । तर अधिकांश संस्थागत विद्यालयहरुले शिक्षक कर्मचारीलाई पाँच÷सात हजार मात्रै पारिश्रमिक दिने गरेको पाइएको छ ।

तलवभत्ता निकासाको बैंक सिटको प्रतिलिपि अनिवार्य शिक्षा शाखामा बुझाउनु पर्ने भएपछि अव संस्थागत विद्यालयले शिक्षक कर्मचारीको पारिश्रमिक बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्नेछ ।

पारिश्रमिक व्यक्तिकै खातामा जाने भएपछि शिक्षक कर्मचारीहरु विद्यालयको शोषणबाट मुक्त हुने अपेक्षा शिक्षा शाखाको छ ।

न्यूनतम पारिश्रमिक नदिने विद्यालयमाथि पालिकाले कडाइ गर्ने शाखा अधिकृत मिजारले बताए । कोहलपुरमा ५६ वटा संस्थागत विद्यालय थिए ।

तीमध्ये ७ वटा विद्यालय भने निष्क्रिय अवस्थामा रहेको पाइएपछि अभिलेखबाट हटाइएको छ । अहिले नगरक्षेत्रमा ४९ वटा संस्थागत विद्यालय चालु अवस्थामा रहेको शिक्षा अधिकृत मिजारले बताए ।