इप्रका कोहलपुरमा २२ लाख ६२ हजार बढि रकममा बन्याे नागरिक सहायता कक्ष

कोहलपुर ।

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा नागरिक सहायता कक्ष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।

वि.स. २०७९ साल चैत ८ गते चौतारामा निःशुल्क रुपमा स्थापना भएको नागरिक सहायता कक्ष अहिले भवन निर्माण गरी कोहलपुर नगर विकास समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रमुख डीआइजी कुवेर कठायत र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आइतबार संयुक्त रुपमा सहायता कक्षको उद्घाटन गरेका हुन् ।

नगर प्रमुख आचार्य, डीआइजी कठायत र प्रजिअ पोखरेलले नेपाल प्रहरीको सेवा नागरिक मैत्री हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नागरिक सहायता कक्ष सुन्दर मात्र नभएर प्रहरीको सेवा सर्वसुलभ, सहज पहुँच गरेर जनताको मनमा पनि सुन्दर हुनुपर्ने सुझाव दिएका थिए ।

रत्न राजमार्ग र पूर्व पश्चिम राजमार्गको चौबाटोमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गेट वेको रुपमा लुम्बिनी प्रदेशको योजनाबद्ध सहरीकरण गरिएको सहरको रुपमा कोहलपुर नगर रहेको छ ।

नागरिकलाई छिटोछरितो र बिना झन्झन्ट सेवा दिने उद्देश्यले कोहलपुर नगर विकास समितिको २२ लाख ६२ हजार ५०८ रुपैयाँको आर्थिक सहयोगमा सहायता कक्षको चार कोठे टिनको भवन निर्माण गरिएको हो ।

कार्यालयमा आवश्यक फर्निचरका लागि पाँच लाख आठ हजार रुपैयाँ खर्चिएको छ । इप्रकाको मूल गेट नजिकै उत्तर पूर्वमा निर्माण गरिएको यो भवनमा नागरिक सहायता कक्ष, दर्ता चलानी, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको कक्ष, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको कार्यकक्ष, बालमैत्री कक्ष, स्तनपान कक्ष र मनोपरामर्श कक्ष रहेको छ ।

जहाँ राप्तीसोनारी गाउँपालिकाले पेरिमिटर निर्माण, जानकी गाउँपालिकाले पिउने पानी, फिल्टर, डिस्पेन्सर, धारा जडान, बालमैत्री वातावरण निर्माणमा गोरखा युनाइटेड पब्लिक स्कुल र शिक्षक महासंघ बाँके, गाभर भ्याली होमस्टेले झरना निर्माण, कार्यालय परिसरमा सौन्दर्यकरण गर्न बाँके राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको अर्जुनवाण गण ओभरी र उद्योग वाणिज्य संघ कोहलपुरले सघाएका छन् ।

इप्रका कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले कार्यालय परिसरको गोलघरबाटै एक वर्षको अवधिमा एक हजार आठ सय ७३ जनालाई सेवा दिएको बताउँदै सेवाग्राहीलाई छिटो, छरितो, गोपनीयता राखेर सेवा प्रदान गर्न पनि नागरिक सहायता कक्ष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको आवश्यकता खड्केको बताए ।

उनले प्रहरी कार्यालय तुलसीको मठ जस्तै पवित्र हुनुपर्ने जिकिर गर्दै प्रहरीका लागि सबैभन्दा ठूलो पूँजी नै नागरिकको विश्वास रहेकाले सेवालाई नागरिकमैत्री बनाएको बताए ।

याे पनि पढ्नुहाेस् ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा निःशुल्क नागरिक सहायता कक्षको स्थापना