प्रथम बैजनाथ महोत्सव औपचारीक रुपमा आजबाट सुरु (फाेटाे फिचर)

बैजनाथ ।

‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सव–२०८०’ बुधबारबाट सञ्चालनमा आएको छ । महोत्सवको लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी नमुनाले दिउँसो औपचारिक रुपमा उद्घाटन गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै केृसीले बैजनाथ क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताइन् । उद्घाटन कार्यक्रममा प्रदेश सांसद रत्न खत्री, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय लगायतले बोलेका थिए ।

सो क्रममा संविधान सभाका सदस्य दलबहादुर सुनार, प्रदेश सांसद दुर्गाबहादुर चौधरी, घरेलु तथा साना उद्योगथ महासंघका केन्द्र, जिल्ला र स्थानीय तहका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । महोत्सव उद्घाटन कार्यक्रममा महासंघ बैजनाथ गाउँपालिकाका वरिष्ठ उपाध्यक्ष एवम् प्रचार–प्रसार संयोजक सुमन विश्वकर्माले स्वागत गरेका थिए । बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित ‘कोहलपुर न्यू सिटी’ भित्र उक्त महोत्सव यही माघ २१ गतेसम्म चल्नेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समिति बाँकेले पहिलो पटक महोत्सव सञ्चालन गरेको हो । महोत्सवमा एक सय ५० देखि २ सय वटा सम्म ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्धारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तु’ प्रमुख आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताएका छन् ।

देश भित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा बायोग्याँस लगायत पर्यटन, औद्योगीक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।

बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रिय स्तरमा चिनाउनका साथै पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एवं लक्ष्यका रुपमा समेत लिइएको आयोजकले जनाएको छ । महोत्सवबाट करिव एक करोड रुपैयाँको हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।