शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँगको सहकार्यमा गर्दै कोहलपुर

कोहलपुर ।
कोहलपुुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने भएको छ ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँगको सहकार्यमा शैक्षिक नीति निर्माण सँगै समावेशी तथा विशेष आवश्यकता कार्यक्रम सञ्चालन गर्ने, बहुसाक्षरता कार्यक्रम सञ्चालन गर्ने, परीक्षा सञ्चालन तथा मूल्याङ्कन अभिमुखीकरण कार्य गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम र शिक्षकहरू एवम् शिक्षक अगुवाहरूको व्यावसायिक विकासका अवसरहरूलाई बढवा दिने कार्यक्रम सञ्चालन गर्ने भएको हो । कोहलपुर नगरपालिकाबिच नगरपालिका भित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयले जनाएको छ ।

नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य र विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डिन डा.बालचन्द्र लुइटेलका उपस्थितमा कार्यक्रमहरू कार्यान्वयन गर्न सम्झौता गरिएको छ । सम्झौताले शिक्षामा प्रतिबद्धता दिनुका साथै स्थानीय शिक्षा परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन व्यापक योजनाको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा रहेको विश्वविद्यालयको भनाइ छ ।

साथै सहकार्य अन्तर्गत, काठमाडौँ विश्वविद्यालयले कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आफ्नो विशेषज्ञता प्रदान गर्नेछ भने नवीनतम शिक्षण विधिहरू लागु गर्ने छ ।

सम्झौता पछि कोहलपुर नगरपालिकाका विद्यालयको पूर्वाधार विकासका लागि उपयुक्त सिकाइ वातावरण सुनिश्चित गर्न स्रोत साधन विनियोजन गर्न प्रतिबद्ध रहेको र साझेदारीले शैक्षिक प्रक्रियामा अभिभावक र समुदायको सक्रिय संलग्नतालाई जोड दिने नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।