रुकुम पश्चिममा खुकुरी प्रहार गरी एक बालकको हत्या

रुकुम पश्चिम।

रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक जना बालकको हत्या गरिएको छ । रुकुम प्रहरीले दिएका जानकारी अनुसार मुसिकोट नगरपालिका–११, को कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला पर्ने रोल्पाको परिवर्तन गाउँपालिका—४, पाछावाङमा अन्दाजी १४ वर्षीय निर्मल डाँगीको हत्या गरेका हुन् । चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

डाँगी दिदीको घरमा आएका थिए । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका–११, कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको पनि प्रहरीले बताएको छ । रुकुम प्रहरीका कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ ।

घटना आइतबार दिउँसो १२ बजेतिरको हो । हत्या गर्ने चन्द्रबहादुरलाई पक्राउ गरिएको छ भने घाइते पुनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हत्या गर्ने चन्द्रबहादुरको मानसिक अवस्था ठिक नभएको पाइएको छ ।