अवैध इरिक्सामा नेपालगञ्ज उपमहानगरले चलायो डोजर

नेपालगञ्ज ।

नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न भन्दै डोजर लाएर थिच्न सुरु गरेको छ ।

लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका भन्दै इ-रिक्सा नष्ट गर्न सुरु गरेको बताएको छ ।

मंसिर १९ गतेदेखि अवैध इ-रिक्सा नियन्त्रण अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाले आज ५ वटा इ-रिक्सा नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीको भनाई छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले इ-रिक्सा नियन्त्रण गर्नुअघि पटक-पटक प्रक्रिया पुर्याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ-रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध इ-रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका दृढ भएर लागेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६ सय २३ इ-रिक्सा नियन्त्रण लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पुर्याएपछि ५ सय ३८ इ-रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा इ-रिक्सा नियन्त्रणमै छन् ।

नगरपालिकाको यो निर्णय विवादमा परेको छ । अवैध इ-रिक्सा नियन्त्रण अभियानलाई प्रशंसनीय ठानेका नगरबासीले डोजरले थिचेर कवाड बनाउने तरिकाको विरोध गरेका छन् । सामाजिक सञ्जालभरी विरोध भैरहेको छ । उनीहरु नियन्त्रणमा रहेका अवैध इरिक्सा लिलाममा राखेर विक्रि गर्न लगायतका सुझाव दिएका छन् ।