शिक्षा विधेयकमा अभिभावकलाई वेवास्ता




काठमाडौं ।

अभिभावक संघ, संगठन र महासंघले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा अभिभावकलाई वेवास्था गरेको आरोप लगाएका छन् । विधेयकमा शिक्षक महासंघलाई महत्व दिएजस्तै अभिभावक महासंघ शिक्षाको हरेक संयन्त्रमा समेट्ने गरी कानुनमै व्यवस्था गरिदिन संघ, संगठन र महासंघका प्रतिनिधिहरुको आग्रह छ ।

विद्यालय शिक्षा विधेयक माथि प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेको छलफलमा उनीहरुले सहभागी संघ, संगठन र महासंघका प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् ।

‘विधेयक अघि बढाउनु अघि शिक्षा मन्त्रालयले सरोकारवालासंग छलफल समेत गरेन । यो दुर्भाग्य हो,’ महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विधेयकमा शिक्षकलाई जति प्राथमिकता दिएको छ । अभिभावकलाई पनि समेटिएको भए सहअस्तित्वको भावना हुन्थ्यो । यो हुन सकेको छैन ।’

विधेयकमा विद्यार्थीको बारेमा एक शब्द पनि उल्लेख नभएको उनले बताए । ‘यो विधेयक कसको लागि हो ? शिक्षकलाई सम्मान गर्नुपर्छ । उनलाई समान नगरेसम्म शिक्षाको विकास हुदैन । तर, विद्यार्थीलाई वेवास्ता गर्नु हुदैन,’ उनले भने ।

अब बन्ने कानुनमा अभिभावक संघ संगठन र महासंघलाई राष्ट्रिय चिनारी गरिदिन उनले आग्रह गरे । ‘अन्यथा यो विधेयक हाम्रो होइन भन्न नपरोस्,’ उनले भने ।

अभिभावक संघका अध्यक्ष केशव पुरीले शिक्षाको गुणस्तर सुधार गर्न अभिभावकको सम्मान हुने गरी कानुन बनाउनु पर्ने बताए । शिक्षाको गुणस्तर सुधारको लागि योजना बनाउन होस वा अन्य जुनसुकै योजना बनाउन अभिभावकलाई समेटिनुपर्छ,’ उनले भने, ‘शिक्षाका स्तर उठाउन राज्यले जुन काम गरेको छ । हामीलाई इग्नोर नगरियोस् ।’ शिक्षा मन्त्रालयले आफुलाई अप्ठ्यारो परेको बेला मात्रै अभिभावकलाई साक्षी राख्न बोलाउने गरेको उनले बताए ।

‘शहरी क्षेत्रका सामुदायिक विद्यालयमा ठुलाबढाका छोराछोरी पढ्ने आभास भएको छ । यो विद्यालय काम गर्नेको सन्तान पढ्ने मात्रै हो र,’ उनले भने, ‘राज्यले लगानी गरेको ठाउँमा उचित निगरानी दिन सक्ने अवस्था होस् । विधेयक आउदा विदेश जाने रोक्न सुझाव दिन पनि अभिावक संघ चाहियो ।’ विद्यालय शिक्षा विधेयकमा सीटीइभीटीलाई नसमेटिएको भन्दै महासंघका अध्यक्ष भण्डारीले आपत्ती जनाए ।

‘विद्यालय शिक्षा प्राविधिक र साधारण भएपनि साधारण तर्फका पाटो मात्रै विधेयकमा समेटिएको छ,’ उनले भने, ‘प्राविधिक किन हटाइएको हो ? यो विधेयकमा प्राविधिक र सीटीइभीटी तर्फ एक शब्द पनि खर्च गरिएको छैन । बिशेष ध्यानाकर्षण गराउँछौ ।’ कांग्रेस सांसद चन्द्र भण्डारीले गुणस्तीय शिक्षाको मापदण्ड के हुने ? भनेर अभिभावकका संघ संगठनका पदाधिकारीलाई प्रश्न गरेका थिए ।

‘जीवन जगतको लागि गुणस्तर भनेको चिल्लो प्रमाणपत्र मात्रै होइन । जीवन गुणस्तर भयो भने पढाई स्तरीयता संग जोडिन्छ,’ उनले भने, ‘१२ कक्षा पास गरेको विद्यार्थीले गमलामा पानी हाल्न जान्दैनन्, आमा बुबालाई सम्मान गर्न सक्दैनन्, समाजमा बाँच्न र बचाउन सक्ने शिक्षा नै गुणस्तर शिक्षा हो ।’ सरकारले बनाउने पाठ्यक्रम पारुपको खाका बनाउदा होस वा अन्य कुनै पनि प्रक्रियामा अभिावकलाई समेट्न नसकेको उनले बताए ।

राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जिसीले अब बन्ने कानुनमा अभिभावकको पहिचान स्थापित हुनु पर्ने बताए । विदेशमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकको संघका अध्यक्ष नवराज काफ्लेले विदेशमा अध्ययन गर्ने विद्यार्थीको यकिन विवरण सरकारले राख्न नसाकेको भन्दै आपत्ती जनाए ।

‘मन्त्रालयको एनओसी भन्ने शाखा छ । एनओसी लिएर भिसा नलागेको पनि हुनसक्छ । कुन देशमा कति अध्ययन गरिरहेका छन् ? सरकारसंग रेकर्ड छैन,’ उनले भने ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार