भ्यू टावर र नयाँ बसपार्क ब्यवस्थापन गर्न सुझाव संकलन

कोहलपुर ।

कोहलपुर नगरपालिकाले निर्माण गरेको भ्यू टावर र नयाँ बसपार्क सञ्चालन तथा ब्यवस्थापनका विषयमा सर्बपक्षिय रुपमा सुझाव लिइएको छ । कोहलपुर नगरपालिकाले शुक्रबार एक कार्यक्रम गरेर सुझाव लिएको हो ।

नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी नमुना, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, कोहलपुर नगरपालिकाका पूर्व वडाअध्यक्ष कर्णबहादुर थापा, ब्यवसायी देवानन्द अर्याल लगायत उद्योगी, ब्यवसायी लगायतले आ-आफ्ना सुझाव दिए ।

नगर विकास कोषको ६० प्रतिशत ऋण अनुदानमा निर्माण गरिएका दुबै पुर्वाधार सञ्चालन तथा ब्यवस्थापनमा समस्या आएपछि सर्बपक्षिय रुपमा सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए । सो क्रममा उनले निर्माण सम्पन्न भएका भ्यू टावर र नयाँ वसपार्कको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सुझाव दिने क्रममा अधिकांसले निर्माण सम्पन्न भईसकेका नगरपालिकाका गौरवका योजनालाई सञ्चालन तथा ब्यवस्थापन गर्दा ब्यवसायीलाई वातावरण बनाइदिनुपर्ने र नयाँ ढंगले ठेक्का टेण्डर गर्नुपर्ने सुझाव दिए । नगर प्रमुख आचार्यले अघिल्लो कार्यकालका जनप्रतिनिधिका पालामा दुबै आयोजना निर्माण कार्य सुरु भएको र आफुहरु आएपछि मात्र काम सम्पन्न भएको बताए ।

‘सुरुवात भईसकेका योजना हामी निर्वाचित भएर आएपछि सम्पन्न भएका हुन्, अब यिनीहरुलाई कसरी ब्यवस्थापन र सञ्चालन गर्ने भन्नेमा सोचनिय विषय बनेको छ ।’ नगरपालिकाले भ्यू टावर र नयाँ बसपार्क सञ्चालनका लागि पटक पटक ठेक्का खोलेपनि कुनैपनि ब्यवसायीले ठेक्का नहालेको उनले सुनाए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदीले स्वागत गरेकी थिइन् । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।