पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

भैरहवा ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी भएका छन् । अभिनन्दनअघि विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका छन् ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे ।

पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो ।

कार्यक्रममा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराकोतर्फबाट स्वागत मन्तव्य राख्दै पूर्वमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राज संस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए ।

पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिएका छन् ।

समारोहमा एमाले, कांग्रेस, माओवादी, तराई केन्द्रीत दलका स्थानीय नेता कार्यकर्ताको सहभागिता छ । समारोहको संयोजक बस्याल पूर्वएमाले नेता हुन् ।