कोहलपुर अन्तर मा.वि मेयर कप : त्रिभुवनलाई पछ्याउँदै बालविद्या र गोरखा

कोहलपुर ।

कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयलाई गोरखा यूनाईटेडले पछ्याउँदै गएको छ ।

कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा सुरु भएको प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयलाई गोरखा यूनाईटेडले गोल्ड मेडलको लागि पछ्याउँदै गएको हो ।

यस्तै बिहिबारसम्म भएको खेलमा त्रिभुवन माविले मार्सल आर्ट कराते छात्रतर्फ ५२ केजी र छात्रातर्फको ४५ केजी, ८ सय र १५ सयको दौडमा छात्र र छात्रा दुवैमा प्रथम स्थान प्राप्त गरी ६ गोल्ड मेडल जित्न सफल भएको छ ।

गोल्ड मेडलका लागि त्रिभुवनलाई पछ्याउँदै आएको बालविद्या मावि र गोरखा यूनाईटेड पनि भएको खेलमा ४/४ गोल्ड मेडल प्राप्त गरिसकेका छन् । जसमा बालविद्या माविले छात्रतर्फको मार्सल आर्ट तेक्वान्दो, छात्रातर्फको हाईजम्प, र एथ्लेटिक्सतर्फको छात्रतर्फ १०० मिटर दौड र १x४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त गरेका छन् भने उता गोरखा यूनाईटेडले पनि छात्रातर्फको लङ्गजम्प, १x४०० मिटर दौड, १०० मिटर दौड, ४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।

यस्तै डाइनामिक माविले पनि ४ गोल्ड मेडल प्राप्त गरेको छ भने कृष्ण माविले २ र कोहलपुर बागेश्वरी मावि, ब्राइटलाईट मावि, सरस्वती मावि, वेस्टर्न मावि, सगरमाथा ज्ञानपुञ्ज मावि, रामजानकी मावि, तक्ष्यशिला मावि, जनज्योति पब्लिक ईमि स्कुल, दिपज्योति मावि र नेपाल राष्ट्रिय माविले १ गोल्ड मेडल प्राप्त गरेको खेल आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।

यस्तै छात्राछात्रातर्फको भलिबल र कवडी प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु भइरहेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो । यस्तै प्रतियोगितामा ३६ माध्यामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि भएका छन् । जसमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जना रहेको आयोजक समितिका सदस्य सचिव मल्लले बताए ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा भइरहेको छ ।