बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

जानकी (बाँके) ।

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका–२ स्थित खैरीखोला सुरक्षा पोष्टनजिकै आज सकेट बम फेला परेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको हो ।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो ।  अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । -रासस