कोहलपुर ।
बाँकेको चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्गलाई बाँके राष्ट्रिय निकुञ्जले अवरोध गरेको छ ।
वि.सं २०१५ देखि नै यस सडकलाई चुनावी नारा बनाएका राजनीतिक दलले यो सडक निर्माण गर्न सडक देखि संसदसम्म विरोध पर्दशन गर्ने प्रतिबद्धता जनाएका छन् ।
विहिबार कोहलपुर नगरपालिकाको १२ र १३ वडाले संयुक्त रुपमा आयोजना गरेको भेलामा बोल्दै अधिकांश व्यक्तिहरुले निकुञ्जले गरेको अवरोधको विरोध जनाएका थिए ।
करिब एक दर्जन भन्दा बढि बोल्ने स्थानियहरुले निकुञ्जले गरेको व्यवहारलाई लिएर निकै आक्रोस समेत भएका थिए । चप्परगौडीदेखि खड्कवार थारुगाउँसम्म ४ खण्डमा विभाजन गरी टेन्डर सम्झौता भएको छ ।
४ वटा निर्माण कम्पनीले चप्परगौडीदेखि खड्कवार थारु गाउँसम्म सडक निर्माण गर्न ८ करोड ५० लाखमा सम्झौता भएको कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बताएका थिए ।
उनका अनुसार कोहलपुर नगरपालिका वडा नं १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सबल बनाउन कोहलपुर–चपरगौडी–खडकवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी रहेको बताए ।
यस्तै कोहलपुुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले सेक्टर वन कार्यालयले अनुमति नलिई काम गरेको भन्दै अवरोध गर्छ तर निकुञ्जले भने अनुमति दिँदैन भन्दै आक्रोस पोखेका थिए ।
एउटाले अनुमति माग्छ भने अर्कोले अनुमति दिँदैन, ८ करोडको बजेट फ्रिज हुनुभन्दा यसको विकल्प सडकदेखि संसदसम्म अवरोध गरेपछि मात्र यो समाधान हुने वडा अध्यक्ष खड्काले जिकिर गरे ।
‘यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुंगा सावित गर्छ’, खड्काले भने, त्यसका लागि बाँकेबासीले यो सडक निमार्णमा भएको अवरोधलाई हटाउन आवाज उठाउन पर्ने बेला आएको छ ।’
यो सडकखण्ड सल्यान, सुर्खेत, प्यूठान हुँदै रोल्पासम्म पुग्ने र छोटो कम खर्चमा यात्रा गर्न सकिन्छ भने पहाडको उत्पादन तराई र बाँकेको उत्पादन पहाड लैजान सहज हुने वडा अध्यक्ष खड्काले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी र सञ्जु कुमारी चौधरीले टेण्डर भएको स्थानसम्म काम गर्ने अनुरोध गरे । टेन्डर भएको सडकखण्डमा निकुञ्जले अवरोध गरेको भए त्यो गलत भएको जिकिर गरे ।
टेन्डर पक्रियाबाट छनौट भएका निर्माण व्यवसायीहरुलाई विभिन्न बहानामा काममा अवरोध ल्याउने काम भएको भए सरासर गलत भएको उनीहरुको निष्कर्ष थियो ।
निकुञ्जले २०२९ कै ऐन लागू भएकोले समस्या भएकै हो भने त्यसलाई समयाअनुकल परिवर्तन गर्न प्रदेश सभाबाट हुने सहयोग पूर्ण रुपमा समर्थन हुने प्रदेश सभा सदस्य चौधरीले बताएका हुन् ।
समन्वय र सहकार्य समिति गठन
चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्गलाई बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय र सहकार्यका लागि समिति गठन भएको छ ।
बिहिबार भएको भेलाबाट वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।
जसमा नेकपा एमालेका क्षेत्रिय संयोजक बलराम भट्टराई, वडा नं. १३ का डम्बर खड्का, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निरक बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका कोहलपुरका सल्लाहाकार चक्र बहादुर केसी, नेकपा एमालेका वडा अध्यक्ष रुपसिंह डाँगी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मेन बहादुर देवकोटा, कोहलपुर मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष ओम प्रकाश वली, नेकपा एसकी जिल्ला कमिटि सचिवालाय सदस्य नारायणी वली, नेपाली काँग्रेस १२ का वडा सभापति केश कुमारी वली र राजमोका वडा अध्यक्ष रुद्रनाथ आचार्य रहेका
छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्