खेलकुद मन्त्रीले गरे कोहलपुर क्रिकेट रङ्गशालाको अनुगमन, समयमै काम पुरा गर्न निर्देशन

कोहलपुर ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोहलपुर क्रिकेट रङ्गशालाको अनुगमन गरेका छन् ।

बुधबार कोहलपुर ११ मा बन्न लागेको कोहलपुर महिला क्रिकेट रङ्गशाला र प्रस्तावित राष्ट्रिय महिला क्रिकेट एकेडेमीको अनुगमन गरेका छन् ।

अनुगमन गर्दै मन्त्री लिम्बुले समयमा नै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । गुणस्तरीय र प्रभावकारी काम गर्नुहोला भन्दै नेपालकै उत्कृष्ट काम गर्न निर्माण व्यवसायीलाई अनुरोध गरे ।

चालू आर्थिक वर्षबाट कोहलपुर क्रिकेट रङ्गशाला निर्माण हुन लागेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्रीले बताए । उनका अनुसार डिपिआरदेखि सम्झौता भएसम्मको मन्त्रीलाई बुझाएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयका इन्जिनियर चिरिञ्जीवी लम्सालले पहिलो चरणमा प्याराफिट ब्लक बन्ने छ जहाँ १२ सय बढि दर्शक बसेर हेर्न मिल्ने गरी बनाउन लागेको बताए । अहिले कंक्रिटको काम मात्र सम्पन्न हुने संरचना २ करोड ९८ लाखमा सम्झौता भई काम सुरु भएको इन्जिनियर लम्सालले बताए ।

यस्तै अनुगमनमा प्रदेश सभा सदस्य, कोहलपुर नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।