सोती हत्याकाण्ड : को को परे जन्मकैदको सजाय भोग्ने २३ जनामा ?

शुदाम शर्मा, कर्णाली व्यूरो प्रमुख 

रुकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीस खड्क बहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्धा दर्ता भएका ३४ जना मध्य २३ जनालाई जन्मकैदको फैसला गरेको हो ।

अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोईरालाले पत्रकार सम्मेलन मार्फत पुर्पक्षका लागि थुनामा रहेका २२ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २३ जनालाई जन्मकैदको फैसला भएको जानकारी दिनुभयो ।

सूचना अधिकारी कोईरालाका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ का तत्कालिन वडा अध्यक्ष समेत रहेका डम्बर बहादुर मल्ल, डिल्ली बहादुर ठकुरी, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्र बहादुर भनिने इर्द बहादुर ठकुरी, लिपेन्द्र कुमार मल्ल, हर्क बहादुर मल्ल, बिनोद मल्ल, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीन जना नाम परिवर्तित रहेका छन् ।

नाम परिवर्तित तीन जना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाई र भाई हुनुहुन्छ । त्यसैगरी जन्मकैद फैसला भएका २३ जना मध्य मल्ल ठकुरी थरका सबैजनालाई जातिय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत भएको छ । नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातिय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको कोईरालाले बताउनुभयो ।

तारेकमा रहेका अन्य आठ जनाले सफाइ पाएका छन्। सफाई पाउनेहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, ईन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द रहेका छन् । यसैगरी पीडितका परिवारहरुलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाहि तरिकाले उपलब्ध गराउने फैसला भएको छ ।

आईतबार सुरु भएको पेशी सुनुवाई पछि तीन दिन लगाएर भएको बहस सकिएसँगै फैसला भएको हो । जाहेरीवालाको तर्फबाट सरकारी वकिल सहित १५ जना र प्रतिवादीको तर्फबाट ६ जना कानून व्यवसायीले बहस गर्नुभएको थियो ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि छ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।