भरूवा बन्दुक पड्काउँदा दोलखामा युवाको मृत्यु

भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवाको मृत्यु भएको छ।

तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले बताए।

भरूवा बन्दुक लिएर कार्कीसहित सात जना गए राति घरनजिकै जंगलमा सिकार खेल्न गएका थिए।

कार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेको थियो।

‘शनिबार बेलुकी करिब ११ बजेतिर सञ्जिवले भरूवा बन्दुक पड्काएको र आफैंलाई लागेको उनीसँगै गएका साथीहरूले बयानका क्रममा भनेका छन्,’ उनले भने, ‘घटनाबारे प्रहरीलाई गए राति करिब २ बजेतिर खबर आएको थियो।’

प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।

घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरी शव पोस्टमर्टमका लागि पशुपति चौलागाईं अस्पतालमा पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।