१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता मंसिर २७ गतेदेखि सञ्चालन हुने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका—२ तेह्र विगाहमा ‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८०’ सुरु हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले यहि मंसिर २७ देखि २९ गतेसम्म १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्दले यहि मंसिर २७ देखि २९ गतेसम्म १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु हुने जानकारी दिएका हुन् ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका ४७ वटा संस्थागत विद्यालयहरु आवद्ध भएको क्रिसा बाँकेले ३ तह (१—५, ६—८ र ९—१२) मा खेलकुद प्रतियोगिता गर्न लागेको क्रिसा बाँकेका अध्यक्ष चन्दले बताए ।

(१—५, ६—८ र ९—१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा हुनेछ ।

चन्दका अनुसार प्रतियोगिताबाट बालबालिकाको सिर्जनात्मक कला र क्षमताको विकाससंगै क्षमतावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षाले प्रतियोगिता सुरु गर्ने लागेको बताए ।

२०६५ सालमा स्थापना भएको क्रिसा बाँकेले विगतदेखि संस्थागत विद्यालयहरुको हकहितका पक्षमा वकालत गर्दै आएको छ ।

१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा ८ विधामा प्रतियोगिता हुने क्रिसा बाँकेका सदस्य नारायणी पंगेनीले बताए ।

पंगेनीका अनुसार १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४ ह १ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा गर्ने सदस्य पंगेनीले बताए ।

टिम दर्ता तथा विद्यालय सहभागिताका लागि १८ गतेको बैंठकले टुङ्गाउने आयोजकले जनाएको छ । ८ विद्यामा हुने खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।