गाजाको अल शिफा अस्पताल ‘सामुहिक चिहान’मा परिणत

एजेन्सी ।

गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको गेटमै ८० जना भन्दा बढीको सामुहिक चिहान भेटिएको छ । इजरायलले अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स्थिति दर्दनाक बनेको हो । सयौं मानिसहरु अस्पतालबाट भागेका छन् ।

अस्पतालका मेडिकल स्टाफहरुलाई शनिबार अस्पताल छोड्न भनिएको थियो । सयौं मानिसहरु ढुंगामाटोले भरिएको सडक हुँदै भागिरहेको दृष्य देखिएको थियो । उनीहरु बन्दुकको फायरिङबाट बच्दै भागिरहेका थिए ।

विश्व स्वास्थ्य संगठनले अगुवाइ गरिरहेको यूएन टिमले अल–शिफा अस्पताललाई डेथ जोन भनेको छ । अस्पतालको गेटमा सामूहिक चिहान फेला परेको पनि उसले बताएको छ । त्यहाँ ८० जनाको शव गाडिएको बताइएको छ ।

यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबालियामा दुई विष्फोट भएको र त्यसमा ८० जना मारिएको जानकारी दिएको छ । यूएनको सेल्टर होममा विष्फोट भएको हो वा होइन भन्ने चाहिँ खुलेको छैन ।

संयुक्त राष्ट्र संघको राहत एजेन्सीले विद्यालयलाई आश्रय गृहमा परिणत गरेको थियो । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा संयुक्त राष्ट्र संघको टोलीले अल–शिफा अस्पताललाई ‘डेथ जोन’ घोषणा गरेको छ । उक्त टोलीले एक घण्टा अस्पतालको निरीक्षण गरेपछि त्यहाँ बम विष्फोट र गोली चलेको निशाना देखिएको जनाएको छ ।

साथै अस्पतालको गेटमै सामूहिक चिहान फेला परेको पनि टोलीले जनाएको छ । त्यहाँका मानिसले चिहानमा ८० जना पुरिएको बताएका छन् ।

यसैबीच इजरायली सेनाले अल–शिफा अस्पताल छाड्न दिएको चेतावनीपछि पनि त्यहाँ अझै ३ सय जना गम्भीर बिरामी रहेको बताइएको छ । डब्लुएचओले त्यहाँ फसेका मेडिकल स्टाफ र बिरामीहरूलाई तत्काल बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ ।