जाजरकोट र रुकुममा भूकम्प अपडेट : ६३ जनाको मृत्यु, ९४ जना घाइते

डिल्ली शाही, बाँके ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले विहान ५ बजेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ६३ जनाको मृत्यु छ भने ९४ बढी घाइते भएको बताएका छन् ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि विरेन्द्रनगरबाट ३६ जना, चौरजहारीबाट २० जना, बारेपिपलबाट २० जना गरी ७६ जनाको उद्धार टोली परिचालन गरिएको डीआईजी ढकालले बताए ।

ढकालका अनुसार रिम्न साइडमा सडकमा पहिरो आएपछि पहिरा पन्छ्याउन मेसिनहरु समेत गईसकेको छ । जाजरकोट र रुकुम पश्चिममा प्रहरी कै सेटमा समेत सम्पर्क हुन नसकेकोले थप विवरण गर्न कठिनाई भइरहेको डीआईजी ढकालले बताए ।

उनका अनुसार विपदमा गर्नुपर्ने कामहरु कुनै बाँकी नराखेको र नेपाल प्रहरीहरुका सम्पूर्ण यूनिटहरु फिल्डमा नै खटिएको बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।