मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गोदावरी नगरपालिका –६, खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको थियो।

सो दुर्घटनामा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको हो।

चौधरीको टाउको र खुट्टामा चोट लागेको थियो। गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा बुधबार उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमर्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता कुलदिप चन्दले जानकारी दिए।