यात्रुसँग बढी भाडा लिने तीन वटा बस कारबाहीमा, ७० जनाले फिर्ता पाए पैसा

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले यात्रुसँग बढी भाडा लिने सवारी चालकलाई कारबाही गरेको छ।

दसैंका लागि घर फर्किने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ। काठमाडौंबाट गुड्ने लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दै आएको हो।

सोमबार र मंगलबार गरी काभ्रे ट्राफिक प्रहरीले तीन वटा बसलाई कारबाही गरेको प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए। तीन वटै बस काठमाडौंबाट झापाका लागि गुडेका बस हुन्। ट्राफिक प्रहरीले सोमबार बा ५ ख २००५ र बा ५ ख ५१ नम्बरको बसलाई कारबाही गरेको छ। यस्तै, मंगलबार बिहान बा ३ ख ६४२८ नम्बरको गाडीलाई पनि कारबाही गरेको हो।

काठमाडौंदेखि झापासम्मको भाडा १७२५ रुपैयाँ छ। तर उनीहरूले यात्रुहरूसँग २१००, २२०० र २००० रुपैयाँ लिएको पाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। तीन वटा गाडीमा सवार ७० यात्रु ठगीमा परेपछि ट्राफिक प्रहरीले चालकबाट बढी भाडा असुल गरी यात्रुलाई फिर्ता गराएको हो।

७० पीडितलाई जम्मा २१ हजार ८०० रुपैयाँ फिर्ता गराइएको पनि कार्यालयले जनाएको छ। दसैं-तिहार र छठ मनाउन धेरै मानिसले काठमाडौं उपत्यका छाडेका छन्।

चाडपर्वलाई केन्द्रित गरेर प्रहरीले विभिन्न ठाउँमा चेकपोष्टहरू खडा गरी जाँच गरिरहेका छन्। चालकहरूले बढी भाडा लिएर ठगी गरेको पाइएमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ।