भ्रष्टाचारमा सबैभन्दा धेरै सरकारी कर्मचारी संलग्न

काठमाडौँ ।

अल्टरनेटिभ फाउन्डेसनले गरेको एक सर्वेक्षणबाट सरकारी कर्मचारी सबैभन्दा धेरै भ्रष्टाचारमा संलग्न रहने गरेको पाइएको छ ।

फाउन्डेसनले देशभरका सातै प्रदेशमा पुगेर गरेको सर्वेक्षणबाट सरकारी कार्यालयका कर्मचारीबाट सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको आँकडा आएको हो ।

फाउन्डेसनले एक हजार जनालाई सोधेको प्रश्नबाट ७०.५ प्रतिशत उत्तरदाताले सरकारी कर्मचारीबाट सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको बताए ।

यस्तै, ६९.६ प्रतिशत उत्तरदाताले मन्त्रालयहरूमा र ६७.३ प्रतिशत उत्तरदाताले मुख्यमन्त्रीको कार्यालयमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको भनाई राखेका थिए ।

यसबाहेक, ६१.७ प्रतिशत उत्तरदाताले सांसदहरू स्वयम् भ्रष्टाचारमा संलग्न हुने गरेको बताउँदा ६०.८ प्रतिशतले प्रधानमन्त्री स्वयम्ले भ्रष्टाचार गर्ने गरेको बताए ।

यस्तै, फाउन्डेसनका महासचिव आरके ढुङ्गानाका अनुसार सहभागी उत्तरदातामध्ये ४०.५ प्रतिशतले स्थानीय सरकारमा भ्रष्टाचार हुने गरेको बताउँदा ३७.७ प्रतिशतले सरकारी वकिल कार्यालयमा भ्रष्टाचार हुने गरेको बताएको जानकारी दिए ।

सहभागी एक हजार जनामध्ये १५ प्रतिशत उत्तरदाताले मात्रै भ्रष्टाचारमा बैंक कर्मचारीहरूको संलग्नता हुने गरेको बताएका थिए ।