समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बन्न पत्रकार महासंघको आग्रह

बाँके।

नेपाल पत्रकार महासंघ बाँकेले धार्मिक सद्भाव कायम राख्न सबैको भूमिका हुने भन्दै संयमित हुन अपील गरेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी प्रेस बिज्ञप्तीमा संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्य तथ्य सूचना संकलन गरी प्रकाशन/प्रसारण गर्नु पत्रकारको कर्तव्य भएको भन्दै हतारो नगरी समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

बहुसांस्कृतिक एवं बहुधार्मिक विविधता नेपालगन्जको बिशेषता हो । जनस्तरकै पहलबाट अनेकतामा पनि एकता कायम हुँदै आएको छ ।

यहाँको सद्भाव, आपसी भाईचारा अरुका लागि पनि उदाहरण बनेको छ । तर पछिल्लो पटक उत्पन्न संवेदनशिल परिस्थितीले नेपालगन्जका हरेक नागरिकमा संशय पैदा भएको छ भने ‘मनमा चोट पुगेको छ ।

‘मनका चोट’मा ’मल्हम लगाई नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने दायित्व र जिम्मेवारी फेरी पनि अरु कसैको नभई स्वंय नेपालगन्जबासीकै हो ।

यसर्थ नेपाल पत्रकार महासंघ बाँके शाखा सम्पुर्ण जातजाती, भाषाभाषी, धर्म, सम्प्रदायमा आपसी एकताका लागि अग्रसर हुन हार्दिक अपील गर्दछ ।

बिज्ञप्तीमा भनिएको छ, पत्रकार आचारसंहितामा उल्लेख भएको, ’विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण नगर्न आग्रह गरिएको छ ।

आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौं । देखिने गरी आफ्नो परिचय पत्र लगाऔँ । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन अनुरोध छ’ बिज्ञप्तीमा भनिएको छ ।

नेपालगन्जमा सिर्जना भएको तनाव फेरी हुन नदिन यस्ता घटनाको कारण खोजी गरी आमनागरिक समक्ष सत्यतथ्य समाचार सम्प्रेशण गर्ने र राज्यका निकायलाई जवाफदेही बनाउने दायित्व र जिम्मेवारी संचारक्षेत्रको हो यसरी आचारसंहिताभित्र रही सत्यतथ्य समाचार सम्प्रेशन गर्ने क्रममा कँहीकतैबाट कुनै पनि बहानामा अवरोध उत्पन्न भए नेपाल पत्रकार महासंघ बाँकेमा तत्काल जानकारी दिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह महांसघले गरेको छ ।

‘महासंघ पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहोयाउँदछ तसर्थ नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताकासाथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं’ बिज्ञप्तीमा भनिएको छ ।