सुदूरपश्चिममा भूकम्प: बझाङमा केही घरमा क्षति

सुदूरपश्चिममा भूकम्पका कारण केही घरहरूमा क्षति पुगेको छ।

मंगलबार दुई पटक भुकम्प गएको छ। २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको हो।

सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहका अनुसार भूकम्पका कारण बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन्।

यस्तै गाउँका केही कच्ची घरहरू भत्किएको उनले जानकारी दिए।

बझाङका स्थानीय ललित सिंहका अनुसार सदरमुकामका घरहरू चर्कीएका कारण मानिसहरू घरबाहिर बसेका छन्। ‘धेरै घरहरू चर्किएका छन्, सदरमुकामका सबै स्थानीय डराएर सडक, तथा खुला चौरमा बसेका छन्, गाउँमा पनि कच्ची घरहरू भत्किएका छन्, ठाउँठाउँमा पहिरो गएको छ,’ उनले भने।

भूकम्पले गरेको क्षतिबारे थप जानकारी लिने काम भइरहेको डिएसपी शाहले बताए।

अछाममा भूकम्प आउँदा भवनबाट हामफालेर एक विद्यार्थी घाइते बनेका छन्। बान्नीगडी जयगढ गाउँपालिका-६ दर्नामा बिन्देवासिनी माध्यमिक विद्यालयको भवनबाट हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन्।