बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागु, १५ किलोमिटर २३ देखि २८ मिनेटमा पार गर्नुपर्ने

कोहलपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू गरिएको छ ।

आज औपचारी कार्यक्रम गरी बाँके राष्ट्रिय निकुञ्जले ओभरीदेखि जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड लागु गरिएको हो ।

ओभरीदेखि जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म विगत ५ वर्षको अन्तरालमा १ सय ६ वटा दुर्घटना भएको र सो क्षेत्रमा दुर्घटना न्यूनिकरणका लागि पहिलो चरणमा टाइम कार्ड लागू गरिएको बाँके राष्ट्रिय निकुञ्जका निमिक्त संरक्षण अधिकृत अर्जुन भुषालले बताए ।

‘ओभरीदेखि जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म १५ किलोमिटर रहेको छ’ उनले भने यो क्षेत्र सिधा भएकोले उच्च गतिका कारणले मानविय संगसंगै जनवारहरुको पनि क्षति भयो ।’

दुर्घटना न्यूनिकरण गर्ने र क्षति हुनबाट बचाउनका लागि यो टाइम कार्ड लागू भएको संरक्षण अधिकृत अर्जुन भुषालले बताए ।

‘टाइम कार्ड लागु भएपछि अब उक्त दुरी २३ देखि २८ मिनेटमा पार गर्नुपर्ने छ,’ उनले थपे, ‘टाइम कार्ड लागु भएको क्षेत्रमा गाडी रोक्न पाइने छैन ।’

ट्राफिक नियम अनुसार टाइम कार्ड लागू भएको क्षेत्रमा सवारी साधान प्रतिघण्टा ४० किलोमिटरको स्पिडमा मात्र चलाउनुपर्ने छ ।

बाँके राष्ट्रिय निकुञ्जको नियम १७ मा भए बमोजिम टाइम कार्ड लागू भएको छ । टाइम कार्ड लागु भएपछि निकुञ्ज क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनिकरण हुने दावी गर्दै भुषालले नियम पालना गर्न/गराउन सबैलाई आग्रह समेत गरे ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको अर्जुन बाण गणका गणपती अशोक खड्काले निकुञ्जभित्रका राजमार्गमा टाइम कार्ड लागु गर्नु अनिवार्य रहेको बताए ।

बन्यजन्तुका साथै मानविय र भौतिक क्षति कम गर्न टाइम कार्डसँगै ट्राफिक सचेतानाका कार्यक्रमहरु पनि संचालन गरीनुपर्ने खड्काले बताए ।

निकुञ्ज क्षेत्रमा स्पाई क्यामराको मद्धतले सवारीसाधनको गति मापन गरी हरेक दिन नियम उलंघन गर्ने करिब १६ जनालाई कारवाही गर्दै आएको बताउँदै खड्काले राजमार्ग क्षेत्रको थप नियमनकालागि प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बाँकेका प्रमुख जिल्ला अधिकरीसहित सरोकारवाला निकायसँगको बैठकले निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागु गर्ने निर्णय गरेको बताए ।

सोही निर्णय अनुसार पहिलो चरणमा ओभरीदेखि खैरीसम्म लागु गरीएको टाइम कार्ड प्रणाली आगामी दिनमा पनि थप केही स्थानमा समेत बिस्तार गर्ने गरी छलफल भईरहेको तिवारीले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि १ घण्टाभन्दा बढी समय लाग्ने भए सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी निकुञ्ज भन्दा बाहिर ल्याएर राख्ने डिएसपी तिवारीले बताए ।