मन्त्री बस्नेतद्धारा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा सवस्टेशनको शिलान्यास

कोहलपुर ।

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको छ ।

दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२/३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ ।

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे ।

मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताए ।

मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताए ।

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने बताए ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका–५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । प्रशारण लाइन तथा सबस्टेशनका लागि चार बिघा ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ ।