सर्पको टोकाईबाट बर्दियामा ५ वर्षीय बालकको मृत्यु

कोहलपुर ।

बर्दियामा सर्पको टोकाईबाट ५ वर्षिय बालकको मृत्यु भएको छ । बाँसगढी नगरपालिका ३ का जय थारुको गोमन सर्पको टोकाईबाट आज मध्यान्न मृत्यु भएको हो । जयलाई घरको आगनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

‘निकै विषालु गोमन सर्पले ती बालकको डसेको रहिछ भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भने, ‘अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।’ सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।

बैशाखदेखि भदौं महिनासम्म उपचारका क्रममा ४ जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.आचार्यले जानकारी दिए। त्यसैगरी उपचारका लागि अस्पताल पुर्‍याईएका मध्ये ५ जनाको बाटोमै मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पुर्‍याईएको थियो ।

पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पर्दशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्नारत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसीयूमा उपचारत रहेको पनि डा. आचार्यले बताए ।